STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसमा संसदीय दलमा भिड्न देउवालाई कोइराला र थापा चुनौती

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ५, मंगलबार

काठमाडौं - कांग्रेस संसदीय दलका नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भिड्न संस्थापनइतर समूहमा हानथाप चलेको छ। यो समूहबाट उम्मेदवार बन्न नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन्। 

इतर समूहको सोमबार बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो। मंगलबार बिहान पनि बैठक बस्ने नेताहरूले बताएका छन्। बैठकमा महामन्त्री थापाले आफू दलका नेतामा निर्वाचित हुने आधार रहेको दाबी गर्दै आफ्नो नेताका रूपमा नेता डा. कोइरालालाई मान्ने स्वीकार गरेका थिए।  डा. कोइरालाले भने १४औं महाधिवेशनमा सभापतिका लागि देउवासँग प्रतिस्पर्धा गरेकाले अहिले पनि आफ्नै नेतृत्व स्वीकार गर्न थापासहित उनी पक्षधर नेतालाई आग्रह गरेका थिए। 

बैठकमा सहभागी नेताले भने इतर समूहबाट जो भए पनि एक जना सर्वसम्मत रूपमा उम्मेदवार बन्नुपर्ने धारणा राखेका थिए। दुई नेताको अडान सोमबार अन्तिम समयसम्म पनि कायमै राखेको बैठकमा सहभागी एक सांसदले बताए। ती सांसदले भने, ‘हामीले सहमतिमा एक जना उम्मेदवार बन्नुस् भन्यौं तर उहाँहरूले अडान छोड्नुभएको छैन।’

संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली मंगलबार नै प्रकाशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गरेको छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ तोकेको छ। 

दलका नेता चुन्न पुस ६ गते बिहान ८ बजेदेखि दुई घण्टा मतदानको कार्यक्रम समिति संयोजक भीष्मराज आङ्देम्बेले जनाएका छन्।

Categorized in राजनीति