STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठका पोल हटाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ३, मंगलबार

तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका काठका जीर्ण पोल विस्थापन गर्ने भएको छ । काठका पोलले जोखिम बढाएपछि नगरपालिकाले त्यस्ता पोललाई हटाएर स्टिलका पोल राख्ने अभियान शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाभित्र काठका पोलको तथ्याङ्क सङ्कलन गरेर स्टिल पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । काठका पोल विस्थापनका लागि नगरपालिकाले १४ वडालाई पहिलो चरणमा ४५ का दरले स्टिलका पोल उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले उपलब्ध गराएका स्टिलका पोल वडामार्फत वितरण गर्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष शतिश न्यौपानेले जानकारी दिनुभयो । वडाभित्र बढी जीर्ण रहेका काठेपोल विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट उपलब्ध भएका ४५ स्टिलका पोल टोल विकास संस्थामार्फत वितरण गरिसकिएका उहाँले बताउनुभयो । “प्राथमिकताका आधारमा टोल विकास संस्थामार्फत पहिलो चरणमा उपलब्ध भएका पोल वितरण ग¥यौँ”, वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “बाँकी ठाउँमा पनि विस्तारै उपलब्ध गराउँदै जाने रणनीति छ ।” एकैपटकमा सबै ठाउँमा स्टिलपोल वितरण गर्न सम्भव नभएकाले प्राथमिकताका आधारमा काठेपोल फेरिने उहाँले बताउनुभयो । काठका पोल कुहिँदा, जीर्ण हुँदा दुर्घटना हुने सम्भावना रहने भएकाले पहिलो चरणमा त्यस्ता ठाउँका काठेपोल विस्थापन गरिने न्यौपानेले बताउनुभयो । वडा कार्यालय भवन निर्माण यसैबीच उक्त नगरपालिकाको वडा नं ७ को नयाँ भवन निर्माण सम्पन्न गरिएको छ । सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गर्ने नगरपालिकाको नीतिबमोजिम केही दिनअघि सो वडाको भवन निर्माण सम्पन्न गरिएको हो । नयाँ भवनबाट छिट्टै कार्यालय सञ्चालन गर्ने तयारी थालिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । रु ५२ लाखको लागतमा निर्माण सम्पन्न भएको भवनमा अध्यक्ष र सचिवको कार्यकक्ष, एक सभाहल तथा एक सोधपुछ कक्ष रहेको छ । भवन निर्माण सम्पन्नपछि सेवा प्रवाहमा सहज हुने न्यौपानेले बताउनुभयो । वडा कार्यालय हाल निजी व्यक्तिका घरमा दुई कोठा भाडा लिएर सञ्चालनमा छ ।
Categorized in राष्ट्रिय