STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १३, आइतबार

काठमाडौँ - काठमाडौँ उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । शनिबार बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए। यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिए । 

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । 

शनिबार साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ । 

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा शनिबार साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छभने २१ जना बेपत्ता छन् । शनिबार साँझबाट भने मौसममा केही सुधार आएको छ । 

Categorized in उपत्यका