काठमाडौँ महानगरपालिकाले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई तीस लाख सहयोग गर्ने
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २२, शनिबार
काठमाडौँको भित्रि शहरमा मा रहेकाे क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिने भएको छ । २०१३ सालमा स्थापना भई भित्रि शहरमा बस्दै आएका नागरिकहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले एक कार्यक्रम बीच सो सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो । सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले भित्री शहरका करीब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा रु पाँच करोड बजेट विनियोजन गरेको स्मरण गराउनुभयो । मेयर शाक्यका अनुसार काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन् भने यो भित्रि शहरमामा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका छन् । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ भन्ने देखिन्छ ।
मेयर शाक्यले काठमाडौँ महानगरपालिका कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सबै मिलेर अघि बढ्नुपर्छ भन्ने हेतुका साथ लागिरहेको पनि स्मरण गराउँदै भन्नु भयो कि सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका कुरा सुनाउनु भयो र भन्नु भयो कि काठमाण्डौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगरहरुले दिएका यस्ता अत्यावश्यक स्वास्थ्य सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएकाे कुरा बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिकित्सालयका अध्यक्ष डाक्टर मनोजमान श्रेष्ठले भित्रि शहरका नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ठूलो सहयोग प्राप्त भएको बताउनुभयो । २५ शैयाको यस चिकित्सालयले कोभिड–१९ को संक्रमण भयावह भैरहेका बेला पनि नागरिकको घर–दैलोमा नै पुगेर सेवा प्रदान गरिरहेको कुरा अध्यक्ष डा श्रेष्ठले भन्नुभयो । अध्यक्ष डा श्रेष्ठले ह चिकित्सालयलाई समयानुकुल विस्तार गर्दै र अत्याधुनिक सेवा प्रवाह गर्दै जाने चरणमा रहेको बेलामा महानगरपालिकाले गरेको यो सहयोग अतुलनीय छ भनि भन्नु भयो ।
यस चिकित्सालयका अध्यक्ष डा.श्रेष्ठले करीब ३५ करोडको लगानीमा अत्याधुनिक भवन निर्माणको तयारीमा चिकित्सालय जुटिरहेको भन्दै सो भवन निर्माणका लागि पनि महानगरपालिकाले पाँच करोड सहयोगको प्रतिबद्धता व्यक्त गर्दा आफुहरु थप उत्साहित भएको जानकारी दिनुभयो ।
Categorized in उपत्यका

