STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषाको पठनपाठन गराउन सबैको सहयोगले सम्भव भएको हो - मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २८, आइतबार

सामुदायिक विद्यालयहरूमा नेपालभाषा माध्यमबाट स्थानीय विषय पढाउने प्रशिक्षण सहायकहरूकोतर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा शंखधर पार्कमा काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्यको प्रमुख अातिथ्यतामा भिन्तुना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ भने सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषाको पठनपाठन सम्भव भएको हो भनि बताउनुभएको छ ।

सो अवसरमा महानगर प्रमुख शाक्यले महानगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई महानगरबारे यथार्थ जानकारी होस् र नगरप्रति अपनत्व बढोस् भन्ने अभिप्रायले स्थानीय विषय स्थानीय भाषामै पढाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

‘भाषाको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ, मौलिक भाषाको ज्ञानले परम्परागत रुपमा विकास हुँदै आएको सामाजिक व्यवस्थापन सम्बन्धी तथ्य थाहा हुन्छ’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले स्थानीय भाषाको अध्ययनलाई औपचारिक शिक्षामा समावेश गरेपछि सहर र यसको चिनारी सम्बन्धी आधिकारिक सूचना प्रवाह हुने अपेक्षा गर्नुभयो ।

 महानगरले सामुदायिक विद्यालयमा नेपाल भाषा अध्यापन गराउन १७२ जना प्रशिक्षण सहायक नियुक्ति गरेको छ भने  नेपालभाषा प्रशिक्षण सहायकहरुको तर्फबाट सुनिता राजभण्डारी र अगिव बनेपालीले स्थानीय भाषा पढाउँदाको अनुभव सुनाउँदै, विद्यार्थीहरुमा चाख बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य तथा अधिकारीहरुले नेपालसम्बतका प्रवर्तक शंखधर साख्वाः र नेपालसम्बत आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

Categorized in उपत्यका