STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंको भाषा संस्कृतिको संरक्षण गर्नेले मात्रै अब चुनाव जित्न सक्ने मेयर विद्यासुन्दर शाक्यको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ४, शुक्रबार

नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन शुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा  नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमा आयोजित  नेपालभाषामा एमफिल पिएचडी अध्यापन शुभारम्भ र नेपालभाषाका महाकवि सिद्धिदास महाजुका कृति संग्रह 'सिध्दिमाः' लगायत  किरन केनको " अमेरिकाय् नेवाः प्रकाशन ", आरिक माला प्रधानको " हरिप्रसाद प्रधानया व्यक्तित्व " , किरण केन रंजितको " तन्त्राख्यान " र "लुमन्ति दबू , ल्याः ९"को सार्वजनिक गर्ने कार्यक्रमका साथै अनुसन्धानकर्ता कबिन श्रेष्ठलाई सत्यहेरा अनुसन्धान  पुरस्कार प्रदान कार्यक्रममा बोल्नुहुँदै  काठमाडौं महानगरपालिका  मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकामा आफूहरू निर्वाचित भएर आइसके पछि यहाँको संस्कृति, सम्पदा र भाषा संरक्षणमा धेरै लगानी गरेको पनि बताउनुभयो । 

काठमाडौं महानगरपालिकाले हालै कक्षा १ देखि ८ सम्म शुरु गरेको नेपालभाषाको पाठ्यक्रम येँ देय् म्हसीके आफूले शुरु मात्र गरेको र अब पछि आउने जनप्रतिनिधिहरूले त्यसलाई अझ थप्दै लाने विश्वास व्यक्त गर्दै जसले त्यसो गर्छ, अबको चुनावमा त्यही मात्र जित्छ भन्नु भयो ।

सोही कार्यक्रममा बोल्नुहुँदै काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको संस्कृति भनेकै अहिले विश्वमा नेपालको संस्कृति भनेर परिचित रहेको र त्यो संस्कृतिलाई काठमाडौंका नेवार समुदायले बचाउँदै आएको कारणले नेवार समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अहिले त्रिविविले नेपालको पहिचान स्थापित गर्ने भाषा, कला, संस्कृति, सम्पदा सम्बन्धी विषयको अध्ययनलाई पनि प्राथमिकतामा राखेको बताउँनुहुँदै यो क्षेत्रमा काठमाडौं महानगरपालिकाले गर्दै आइरहेको कार्य अत्यन्त सराहनीय छ भन्नुभयो । 

नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा  सम्पन्न भएको उक्त कार्यक्रममा पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण कुँवरले पनि बोल्नुभएको थियो । 

उक्त कार्यक्रममा केन्द्रीय विभागले नेपालभाषामा स्नातकोत्तर विषयको पठनपाठन शुरु गरेको ४१ वर्ष पुगेको उपलक्ष्यमा नेपालभाषाका महाकवि सिद्धिादास महाजुका सम्पूर्ण कृतिहरूको संकलन ‘सिद्धिमाः’ लगायत पुस्तकका रुपमा आएका विभिन्न शोधग्रन्थहरूको पनि सामुहिक विमोचन गरिएको थियो । सोही कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागमा संग्रहित करिब ३० हजार पुस्तकलाई डिजटाइज गरी ई–पुस्तकालयमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिकाले रु. ५० लाख बजेट विनियोजन गरिएको जानकारी पनि दिइएको थियो ।

Categorized in उपत्यका