काठमाडौंको स्वास्थ्य मापदण्डमा कडाइ, २५ जना बढी भेला हुन नपाइने
Janjati Khabar – Janjati Khabar | २०७८ पौष २७, मंगलबार
२७ पुस काठमाडौं - काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्नेलगायत निर्णय भएको छ ।
यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन ।
यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।
जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ ।
Categorized in उपत्यका

