काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार
काठमाडौं : काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो।
संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा ५४ जना संक्रमित हुँदा प्रत्येक घन्टा कम्तीमा दुईजना संक्रमित थपिएको देखिन्छ।
नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।
यस्तै सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो छ।मन्त्रालयका अनुसार सोमबार थप २६४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको संख्या ६ हजार ८११ पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, ६ हजार ८११ जना डिस्चार्ज
यसैगरी कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
मन्त्रालयका अनुसार सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ भने २६४ जना कोरोना जितेर घर फर्किएका छन्। हालसम्म संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ भने निको हुनेको संख्या ६ हजार ८११ पुगेको छ।मन्त्रालयका अनुसार रेड जोनमा ५१९ जना रहेका छन्।
Categorized in राष्ट्रिय