काठमाडौं उपत्यकामा ६ जनासहित एकैदिन ६७१ जनामा संक्रमण पुष्टि, मृत्यु हुने २२ पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
काठमाडौ – काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार एकै दिन ६७१ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना भक्तपुरका गरी ६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप दुईजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
काठमाडौंमा १ महिला र १ पुरुष र ललितपुरमा १ पुरुष र भक्तपुरका १ महिला र २ पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
यसैगरी, बिहीबार एकैदिन ६७१ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमकाअनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो । नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन् ।
बुधबार मात्रै ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार पीसीआर विधिबाट १ लाख ५५ हजार ५१८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ।
मृत्यु हुने २२ पुग्यो
प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका(४ घर भएका ४६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृतक पुरुषमा जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार राति उनको मृत्यु भएको गौतमले जानकारी दिए ।
यस्तै बिहीबार थप १९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट १९ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए । योसहित निको हुनेको संख्या ११सय ८६ पुगेको छ । डिस्चार्ज हुनेमा १ हजार ७२ पुरुष र ११४ महिला छन्।
Categorized in राष्ट्रिय