काठमाडौं १५ वडामा प्राचीन ढुङ्गेधारा भेटियो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २१, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिका १५ वडास्थित ब्यसल टोलमा प्राचीन ढुङ्गेधारा फेला परेको छ ।
प्राचीन ढुङ्गेधारा भेटिएको खबर प्राप्त भएपछि सम्पदा अभियन्ता यादवलाल कायस्थको नेतृत्वमा एक टोली सो स्थानमा पुगेको थियो ।
भेटिएको उक्त प्राचीन ढुङ्गेधाराबारे पुरातत्व विभागलाई जानकारी गराइसकेको कायस्थले जनजाति खबरलाई बताएका छन् । पानी सुकेको अवस्थामा फेला परेको ढुङ्गेधाराको मुहान र प्रणालीबारे चाँडै अध्ययन हुने पनि अभियन्ता कायस्थले जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौँ उपत्यकाभित्रका १० वटा नगरपालिका क्षेत्रभित्र रहेका ढुङ्गेधारा तथा पोखरीको स्थलगत अध्ययन गरी तयार पारेको ‘काठमाडौँ उपत्यकाभित्रका ढुङ्गेधारा तथा पोखरीको लगत नक्साङ्कनसम्बन्धी’ पुस्तकमा काठमाडौँ उपत्यकाको १० वटा नगरपालिकाभित्र ५७३ ढुङ्गेधारामध्ये स्थलगत अध्ययनका क्रममा ४७९ वटा मात्र भेटिएको पुस्तकमा उल्लेख गरिएको छ । ५२ वटा ढुङ्गेधारा मासिएको पाइएको पुस्तकमा उल्लेख छ । स्थलगतरुपमा खोजीका क्रममा ४२ वटा पत्ता नलागेको अवस्थामा छ ।
यो पनि पढ्नुहोस् : ऐतिहासिक महत्वका ढुङ्गेधारा ओझेलमा
Categorized in उपत्यका