STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कालिगण्डकी शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १९, बिहिबार

काठमाडौं - भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ।

बिहिबार अयोध्यामा आयोजित भव्य समारोहका बीच पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री विलमेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन्। हिन्दू परम्परा अनुसार पूजापाठ गरी मन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माण स्थल रामसेवकपुरममा उक्त शिला हस्तान्तरण गरिएको हो।

शिला हस्तान्तरण कार्यक्रममा नेपाल र भारतबाट उपस्थित हिन्दू धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। त्यस अबसरमा सयौं साधुहरु पनि उपस्थित थिए। उनीहरुले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए। ऐतिहासिक यो अवसरको समाचार संकलनका लागि दुबै देशबाट ठूलो संख्यामा संचारकर्मीहरु जम्मा भएका थिए।

शिला पूजापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यो कामलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गरे। त्यसैगरी महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्र वाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गरे।

शिला बुझ्नुहुँदै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेकोले यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको धारणा राखे। उनले यो पुनित कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवादसमेत दिए।

जानकारी मन्दिरका महन्थ दासले युगौंदेखि चलिआएको नेपाल–भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गरे। उहाँले भगवान राम र माता सीताको वैवाहिक सम्बन्धसंगै स्थापित यो सम्बन्ध चन्द्र, सूर्य र यो ब्रह्माण्ड रहेसम्म कसैले कमजोर बनाउन नसक्ने बिश्वास व्यक्त गरे।

त्यसैगरी राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालिगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको भन्दै यसबाट दुबै देशले लाभ उठाउने बताए।

दुईवटा शिलामध्ये एउटा १८ टनको छ भने अर्को १६ टनको छ। १६ टनको शिलामूनी चतुर्भूज सालिग्राम भेटिएको थियो। माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकोमा दुई दिनपछि बुधबार अयोध्या पुगेको थियो। अयोध्या प्रवेशसँगै बुधबार श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आउनुभएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसहितलाई स्वागत गरेका थिए।

बिहिबार हस्तान्तरण गरिएको शिलाबाट राममन्दिरको गर्भभागमा राखिने रामको बालस्वरुप बनाइने छ। मन्दिर आगामी जनवरी २०२४ मा निर्माण सम्पन्न भई उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले जानकारी दिए।

Categorized in राष्ट्रिय