किसानलाई समयमै मल दिइनुपर्ने माग संसदमा
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३०, सोमबार
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत रासायनिक मल र त्यसको भण्डारणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थन गर्दै राईलेले मलको अभावमा किसानहरू छटपटाई रहेको बताए ।
‘मलको समेत व्यवस्था गर्न सक्दैन भने यो सरकारले देश र जनताको निम्ति के गर्न सक्छ भन्ने गम्भिर प्रश्न उठेको छ । म यति मात्रै भन्न चाहन्छु–यो मल कहाँ आइपुग्यो ? यो मल कहिले आईपुग्छ ? र, जनताले कहिले खेतीपाती गर्न पाउने व्यवस्था हुन्छ ? यसको जवाफ दिन म समामुखमार्फत यो सरकारलाई आग्रह गर्न चाहन्छु,' राईले भने ।
सरकारले त्यसको व्यवस्था मिलाउन ढिलाई गर्न नहुने उनको भनाइ थियो । मलको व्यवस्था गर्न नसके सरकारको औचित्य समाप्त हुने उनले बताए । 'यदि समयमा यो सरकारले मल उपलब्ध गराउन सक्दैन भने जनताको दैनिक सरोकारको सवालमा खेतीपातीलाई व्यवस्था गर्न सक्दैन भने यो सरकारको अब औचित्य समाप्त हुन्छ । यसकारणले हुन्छ कि यो सामान्य भन्दा सामान्य कुरा पनि ल्याउन नसक्ने सरकार मलाई त अचम्म लाग्यो,' उनले भने ।
एमालेकै अर्का सांसद नारायणप्रसाद खतिवडाले अविलम्ब मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । मलको व्यवस्था कहिले गर्ने भनि सरकारलाई उनले प्रश्न गरे । 'हामीले मल, मल र मल भनेर सदनमा जतिसुकै चिच्याए पनि सरकार सुन्नेवाला छैन,' उनले भने, 'किसानहरू मलको अभावमा दिनदिनै छटपटाईरहेका छन् ।'
आगामी वर्ष मलको अभाव झन् चर्कने उनले बताए । ‘यो वर्ष २९ अर्ब मलमा अनुदान छुट्टयाउँदा त मलको अभाब भइरहेको छ भने यो वर्ष सरकारले १५ अर्ब मात्रै पैसा छुट्टयाएको छ । अर्को वर्षको हालत के होला,' खतिवडाले भने, 'मलको अभाबमा उत्पादन घटदै जाने अवस्था आइरहेको छ । अविलम्ब सरकारले मल उपलब्ध गराउनुपर्यो । कति मूल्यमा मल जिल्ला सदरमुकामहरूमा पाइन्छ ? कृषिमन्त्रीले तत्काल जवाफ दिनुपर्यो । प्रधानमन्त्रीज्यूले जवाफ दिनुपर्यो ।’
Categorized in राजनीति

