कीर्तिपुरमा कोरोना लक्षण मिल्दोजुल्दो बिरामी
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १६, आइतबार
काठमाडौं– कीर्तिपुर वडा नं. १ बाघभैरवस्थित हिलटाउन स्कुलमा कोरोनासँग लक्षण मिल्दोजुल्दो बिरामी भेटिएका छन् ।
उक्त स्कुलमा बस्दैआएका स्कुलकै सुरक्षाकर्मी दीपक लावतीकी बहिनी कल्पना लावतीलाई कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।
कल्पना लावती ९ दिनअघि दुबईबाट फर्किएर आफ्ना दाजु कार्यरत स्कुलमा बस्दै आएका हुन् । आइतबार (चैत १६ गते) साँझ ६ः३० बजे कल्पना लावतीलाई कीर्तिपुर अस्पतालमा उपचारको लागि लगिएको स्थानीय राजु श्रेष्ठले जानकारी गराएका छन् ।
श्रेष्ठका अनुसार कल्पना लावतीलाई ज्वरो आएको साथै श्वासप्रश्वासमा समस्या देखिएकोले अस्पताल लगिएको हो । अस्पतालमा सामान्य उपचारपछि उनलाई पाटन अस्पताल रिफर गरिएको उपचारमा संलग्न डा. पेरु प्रधानले जानकारी दिएका छन् । लावतीलाई कोरोना संक्रमण भएको वा नभएको बारे थाहा हुन सकेको छैन ।
कोरोना संक्रमितको आशंकामा उपचार गराइरहेका लावतीले अस्पतालमा सोधपुछ गर्दा उनले आफ्नो परिचय खुलाउन नचाहेको पनि स्थानीय श्रेष्ठले जानकारी गराएका छन् ।
स्कुलजस्तो सम्वेदनशील ठाउँमा बस्दै आएका व्यक्ति कोरोना संक्रमित निस्किने त्रासमा कीर्तिपुरका बासिन्दा अहिले भयभित बनेका छन् ।
यस घटनापछि हिलटाउन स्कुलका सुरक्षाकर्मी, उसको परिवारलगायत त्यस क्षेत्र वरपरका सम्पूर्ण पसलहरुमा छानबिन गरी वास्तविकता सार्वजनिक गर्न स्थानीयले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
Categorized in राष्ट्रिय