STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुर १० वडा चिथु–इताछेँ टोलको पुनःनिर्मित चैत्यको प्राण प्रतिष्ठापन पूजा बुधबार

Janjati Khabar – ललेन्द्र शाक्य | २०७९ आषाढ २८, मंगलबार

इताछेँ–चिथु टोलमा चैत्यको बुद्धमूर्तिलाई प्राण प्रतिष्ठापन बुधबार समापन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने उपभोक्ता समितिद्वारा जानकारी

कीर्तिपुर/कीर्तिपुर नगरपालिका १० वडा चिथु–इताछेँ टोलमा अवस्थित करिब २५० वर्षभन्दा पनि पुरानो ऐतिहासिक नगरी कीर्तिपुरको पहिचान र गौरवको रुपमा रहेको चैत्य पुनःनिर्माणको कार्य सकिएको छ भने उक्त चैत्य परिसरका ढुंगा छाप्ने कार्य पनि सम्पन्न भएको छ ।

इताछेँ टोलस्थित कीर्तिपुर वाचनालय परिवारका सक्रिय युवा सदस्यहरु दिपक महर्जन, भीमकुमार शाक्य र राजेन्द्र कुमार महर्जन राजीको सक्रियतामा इताछेँ उपभोक्ता समिति गठन गरी पुनःनिर्माण भएको चैत्य र ढुंगा छपाई कार्य समाप्त भइसकेकोले ने.सं. ११४२ दिल्लाथ्व गुरुपुन्ही (असार २९ गते) बुधबारको दिन विशेष पूजा गरी पुनःनिर्मित चैत्यको उद्घाटन एवं चैत्यमा चारै दिशामा राखिएको बुद्धमूर्तिलाई प्राण प्रतिष्ठापन कार्य हुने भएको छ । बौद्धधर्म परम्परा अनुसार विशेष पूजाविधिबाट चैत्यमा स्थापित बुद्धमूर्तिलाई प्राण प्रतिष्ठापन गर्ने कार्य हुने जानकारी उपभोक्ता समितिले दिएको छ ।

असार २९ गते गुरुपुन्ही बुधबार विहान ९ बजेदेखि धार्मिक पूजाविधि सुरु हुने उक्त चैत्यमा विराजमान बुद्धमूर्तिको प्राण प्रतिष्ठापन एवं समापन पूजामा सम्पूर्ण भक्तजन एवं टोलबासीलाई सहभागी हुन उपभोक्ता समितिले अनुरोध गरेको छ ।

स्थानीय तह निर्वाचनको केही दिन अगाडिदेखि पुनःनिर्माण कार्य सुरु गरिएको उक्त चैत्य पुनःनिर्माण र ढुंगा छपाई कार्यमा आर्थिक एवं भौतिक रुपमा सहयोग गर्ने दाताहरु एवं सहयोगीहरुलाई समापन कार्यक्रमको रुपमा एक भव्य कार्यक्रम गरी सम्मान गर्ने योजना रहेको इताछेँ उपभोक्ता समितिले जनाएको छ ।

उक्त समापन कार्यक्रममा सम्पूर्ण सहयोगीहरुलाई सम्मान एवं धन्यवाद पत्र हस्तान्तरण गरी कदर गर्ने एवं साथसाथै अन्य विविध कार्यक्रमको पनि आयोजना गर्ने योजना रहेको जानकारी उपभोक्ता समितिले दिएको छ ।

कीर्तिपुर नगरपालिका १० वडा कार्यालय एवं विभिन्न दाताहरुबाट संकलित रकमबाट पुनःनिर्माण एवं ढुंगा छपाई कार्य सम्पन्न भएको उक्त चैत्य परिसरमा लाईट सिस्टमदेखि आकर्षक आगन्तुक मेचहरु पनि राखिने योजना रहेको जानकारी समितिले दिएको छ । 

इताछेँ टोलका युवाहरुको विशेष योगदान एवं सक्रियतामा पुनःनिर्माण भएको चैत्य तथा चैत्य परिसरमा ढुंगा छपाई कार्य सम्पन्न पछि उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा परिणत गर्ने र ऐतिहासिक नगर कीर्तिपुर प्रवेश गर्ने सम्पदा मार्ग तथा प्रमुख स्थान भएको कारण उक्त क्षेत्र आकर्षणको केन्द्रविन्दु बनाउने सोंच र योजना रहेको जानकारी पनि उपभोक्ता समितिले दिएको छ । 

युवाहरुको सक्रियतामा ऐतिहासिक कीर्तिपुर नगरको एक ऐतिहासिक सम्पदाको पुनःनिर्माण भएको छ । कीर्तिपुर नगरको लागि यो एक गौरवको विषय हो । सुन्दर कीर्तिपुर बनाउने योजनाको यो एक उल्लेखनीय कदम पनि हो । यस्तै युवा जोश समग्र कीर्तिपुरमा परिचालित भएको खण्डमा अवश्य पनि कीर्तिपुर स्वर्ग सावित हुनेछ । यसमा दुईमत देखिँदैन ।

Categorized in उपत्यका