कुलेखानीको जलाशय भरियो, आयोजना पूर्णक्षमतामा चलाइँदै
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार
पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको पानी घटाउने तयारी गरेको छ । सो जलाशयमा हाल दुई आयोजना सञ्चालनमा छन् । कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
दुईवटै आयोजना पूर्ण क्षमतामा चलाउँदासमेत एक घण्टामा तीन सेन्टिमिटर मात्रै पानी घट्नेछ । तर जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण ६० सेन्टिमिटर पानी थप भएको छ ।
गत वर्ष वर्षभरिमा जलाशयमा पानीको सतह एक हजार ५२६ मिटर रहेकामा यस वर्षको असार ३० गते अर्थात् आज बिहानसम्म सोही क्षमतामा पुगेको छ । प्राधिकरणका अनुसार आज बिहान ५ः३० मा पानीको सतह बढेर एक हजार ५२६ मिटर पुगेको छ ।
जलाशयमा अधिकतम एक हजार ५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुनसक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करीब २० मिटर बढेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो र दोस्रो आयोजना पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
“पानी पर्न भर्खर शुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महीनाअगाडि नै भरियो”, उहाँले भन्नुभयो, “विगतमा बर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारतबाट आयात भइरहेको विद्युत् आयात घटाइएको छ ।”
कुलेखानी पहिलो विद्युत्गृह पूर्ण क्षमतामा चलाउँदासमेत सामान्य मात्रामा मात्रै पानीको सतह घट्ने छ । कुलेखानीमा बर्खाको पानी जम्मा गरी मुख्यरूपमा विद्युत्को अत्यधिक माग हुने हिउँदमा मात्रै चलाउने ‘पावर ब्याङ्क’ आयोजना हो । विद्युत्को आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।
जलाशयको पानीलाई क्रमशः नियन्त्रितरूपमा निकास दिइने भएकाले आत्तिइहाल्ने अवस्था नभएको प्रवक्ता अधिकारीको भनाइ छ । जलसतह बढ्ने क्रममा रहेकाले जलाशयको पानीलाई क्रमशः घटाएर नियमित राख्ने प्रयासमा प्राधिकरण रहेको छ ।
प्राधिकरणले हाल ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत मात्रै करीब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षाका कारण तराईमा विद्युत् माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करीब ६०० मेगावाट मात्रै छ ।
प्रवक्ता अधिकारीले विहारबाट आयात गरिने विद्युत् पूर्णरूपमा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट समेत २५० मेगावाट बढी विद्युत् आयात भइरहेकामा त्यसलाई घटाएर करीब १५० मेगावाटमा सीमित गरिएको छ ।
Categorized in राष्ट्रिय