कृषि फार्मलाई अनुदान रकम वितरण
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार
कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो ।
कृषिजन्य तथा पशुजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरिएको बजेटअनुसार सो अनुदान रकम प्रदान गरिएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।
“अनुदानको मापदण्ड अनुसार ३७ वटा फार्मलाई स्वीकृत गरेका हौँ”, शर्माले भन्नुभयो, “यो वर्ष छुटेका फार्महरुलाई अर्को वर्ष पुनः मूल्याङ्कन गरिनेछ ।”
शर्माका अनुसार फार्म स्वीकृत हुनेमा २६ वटा बागलुङ र ११ वटा पर्वत जिल्लाका छन् । त्यस्तै चार वटा फार्म वैकल्पिकमा परेका छन् । ती फार्महरुलाई न्यूनतम रु दुई लाख ५० हजारदेखि अधिकतम रु चार लाखसम्म अनुदान रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय


