STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

केयूमा प्राविधिक शिक्षामा स्नातकोत्तर तह शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

काठमाडौँ विश्वविद्यालय केयु को स्कूल अफ एजुकेसनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम टीइभीटी लक्षित स्नातकोत्तर तह कार्यक्रम ल्याएको छ । यो कार्यक्रम दक्षिण एशियामै पहिलो पटक काठमाडौँ विश्वविद्यालयले शुरु गरेको हो । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्राप्त गर्न सके समाज रूपान्तरणका लागि सघाउ पुग्ने सकारको विश्वास छ । सरकारले नेपालका सबै ७५३ स्थानीय तहमा प्राविधिक शिक्षालयहरू खोल्ने योजना राखेको छ । देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सीटीईभीटी० का झण्डै ६०० आङ्गीक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरु छन् । सोही सन्दर्भलाई मध्यनजर गर्दै केयूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको नेतृत्व र अनुसन्धान विकासका लागि आवश्यक जनशक्ति तयार गर्न यो कार्यक्रम शुरु गरेको हो । “‘सरकारले एक गाउँ एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याउनासाथ यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका हौँ”, स्कूल अफ एजुकेसनका डिन तथा प्राध्यापक डा महेशनाथ पराजुलीले भन्नुभयो, “तर यो कार्यक्रमको पूर्व तयारी अगाडिबाटै भएको थियो ।” उहाँका अनुसार सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई अघि बढाएपछि विश्वविद्यालयले पनि आफ्नो दायित्वका रूपमा यो कार्यक्रम शुरु गरेको हो । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि आवश्यक नेतृत्वदायी क्षमता भएका जनशक्ति तयार गर्न केयूको यो कार्यक्रम कोसेढुङ्गा सावित हुने प्राध्यापक डाक्टर टङ्कनाथ शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ शैक्षिक कार्यक्रम भएकाले यो विषय अध्ययन गर्नेहरुले छिट्टै रोजगारीको अवसर पाउने अवस्था रहेको छ ।” प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विज्ञ डाक्टर उषा भण्डारीका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा स्नातकोत्तर तहको कार्यक्रमले यस क्षेत्रका लागि आवश्यक योजनाकार, व्यवस्थापक तथा अन्य विशेषज्ञ तयार गर्दछ । उहाँले भन्नुभयो, “पढ्ने मात्र नभई गरिखान सिकाउने शिक्षाको विषयलाई सम्बोधन गर्न छुट्टै शैक्षिक कार्यक्रम आवश्यक थियो जुन केयूले ल्याएको छ ।”
Categorized in राष्ट्रिय