कोरोना जोखिमबीच सरकारी सेवाहरु खुल्दै, जिप्रकाले बार अनुसार सेवा दिने
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १, बिहिबार
काठमाडौं– काठमाडौं उपत्यकामा कोरोनो संक्रमणको जोखिम रहे पनि सरकारी तथा निजी सेवाहरु खुल्न थालेका छन् । यसैक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज ४ गते आइतबारदेखि स्थगित गरेका सेवाहरु पुनः सञ्चालन गर्ने भएको छ ।
प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।
कोरोना संक्रमण जोखिम नियन्त्रणको लागि भने स्थानीय तहअनुसार सेवा लिने बार तोकिएको छ ।
प्रशासनले एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी तालिका बनाएको छ ।
जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् ।
संस्था दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ, नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ । पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्राचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
बसपार्क पनि खुल्यो
यसैगरी, आजबाट लामो दुरीका यातायात खुलेसँगै बिहीबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । टिकट काउन्टर, सार्वजनिक बस, बसपार्क क्षेत्रका भवनलगायतमा कोरोना भाइरस मार्ने औषधि छर्किएर निःसंक्रमण गरिएको हो ।
यात्रुहरुलाई सुरक्षित राख्नका लागि बसभित्रै पनि औषधि छर्किएको छ । यातायात व्यवसायी, कर्मचारी, टिकट काट्न आउने यात्रुलगायतलाई संक्रमण नहोस् भनेर निःसंक्रमण गरिएको हो ।
आजबाट केही गाडीहरु सन्चालनमा पनि आइसकेका छन् । साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु र सार्वजनिक गाडीका कर्मचारीहरुले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।
नारायणी अस्पतालको ओपीडी सेवा खुल्यो
यसैगरी, वीरगञ्जस्थित नारायणी अस्पतालमा ओपीडीसहितको जनरल सेवा पुनः सुरु भएको छ । पर्सा जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएका कारण बिहीबारदेखि ओपीडी सेवा सुचारु गरिएको नारायणी अस्पतालले जनाएको छ ।
साउन ९ गतेबाट नारायणीमा आकस्मिक बाहेकका सेवा बन्द थियो । अस्पतालमा प्रसुति लगायतकेही अत्यावश्यक सेवा भने यसअघिदेखि नै सुचारु गरिएको थियो ।
Categorized in राष्ट्रिय