कोरोना नियन्त्रणमा सम्पूर्ण शक्ति : नवनियुक्त प्रधानमन्त्री ओली
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकार सम्पूर्ण शक्ति केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना नियन्त्रण तथा रोकथाममै सरकारको ध्यान केन्द्रित हुने बताए । त्यसका निम्ति अक्सिजनको अभाव हुन नदिने र खोपको आवश्यक प्रबन्ध गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘‘कोभिड–१९ विकराल हुन नदिन सरकारले सम्पूर्ण शक्ति केन्द्रित गर्नेछ । अक्सिजनको अभाव हुन दिइने छैन । खोपको आवश्यक प्रबन्ध गरिनेछ,’ उनले भने । अक्सिजका उद्योग पूर्ण क्षमतामा चलाउन उनले निर्देशन दिए । अक्सिजनको ढुवानीलाई समेत व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन छ । ‘अक्सिजन भनसुनको आधारमा होइन । बिरामीको स्थिति र चापको आधारमा व्यवस्था गरिन्छ,’ उनले भने ।
महामारीको अवस्थामा अनुचित लाभ लिन खोज्नेलाई सरकारले कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी छ । ‘महामारीमा कसैले भ्रष्टाचार वा स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा बिरामी वा सम्बन्धित आफन्तबाट अनुचित लाभ लिन्छ भने त्यस्ता कर्तुतलाई सरकारले माफी दिनेछैन,’ ओलीले भने ।
‘
प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट उद्योग, व्यवसाय, रोजगार तथा उत्पादनमा परेका प्रभावलाई सम्बोधन गर्न सरकारले राहत घोषणा गर्ने बताए । ‘कोभिड–१९ बाट उद्योग, व्यवसाय, रोजगार र उत्पादनमा परेको प्रभावलाई सम्बोधनको न्यूनीकरण गर्न प्रतिकूल असर पर्न नपाओस् भन्न सरकार सजग भएर राज्यका सम्पूर्ण साधनस्रोत र सामर्थ्य परिचालन गर्नेछ,’ उनले भने ।
देश र जनताको नाममा बफादार भएर काम गर्न शपथ ग्रहण गरेको भन्दै ओलीले जनताप्रति पूर्ण बफादार हुँदै अघि बढ्ने बताए ।


