कोरोना परीक्षण थाल्दै प्रसुति गृह
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गर्नुभए पछी थापाथली स्थित सो अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन् । कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको आज उद्घाटन भएसँगै उनीहरुले यस्तो सेवा प्राप्त गर्ने भएका हुन् । काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो भने उक्त अस्पताललाई हस्तान्तरण गरिएको सो मेसिन काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले अनुदान स्वरुप दिएको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री ढकालले प्रसूति सेवाका लागि विशिष्ठ योगदान दिदैँ आएको उक्त अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले गरेको सहयोग पनि प्रसंशा गर्नुभयो । प्रमुख शाक्यले विगतका दिनमा पनि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराउनुभयो । उहाँले महानगरपालिकासँग स्वास्थ्यका क्षेत्रमा प्रयाप्त पूर्वाधार र जनशक्ति नभएकाले पूर्वाधारसहितका अस्पताललाई कोभिड–१९ को परिक्षणका लागि अत्यावश्यक सामग्री सहयोग गर्दै आएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको सहकार्यमा बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा सुरु गरिसकेको गरेको कुरा सो कार्यक्रममा मेयर शाक्य ले जानकारी पनि दिनुभयो । काठमाण्डौं महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरी कोभिड–१९ लाई लक्षित गरी प्राथमिक र आकस्मिक सेवासहितको सेवा दिइरहेकाे र अब अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता गरिसकेको जानकारी दिंदै कान्ति बाल अस्पतालसँग पनि स्वास्थ्य सम्बन्धि विभिन्न सम्झौता गरी सकेको कुरा मेयर शाक्यले बताउनु भयो । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली उपनिर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर ल्याबको उद्घाटन गरेको भन्दै अब छिट्टै सेवा सुरु गर्ने जानकारी दिनुभयो । उहाँले ल्याबको क्षमता हेरेर दैनिक करीब २० बाट सुरु गरी २ सय सम्मको पीसीआर परिक्षण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलका अनुसार ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थानका साथै विभिन्न स्वास्थ्य उपकरण प्राप्त भएकोमा सबै जसो उपकरण र स्वास्थ्य सामग्रीहरू विभिन्न अस्पताललाई सहयोगको रुपमा प्रदान गरिएको कुरा बताउनु भयो । Categorized in उपत्यका


