STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ६, सोमबार

चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्तराज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको सङ्केत गरेको छ । क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको थियो । सूचना प्रविधिका क्षेत्रमा महान शक्ति बन्ने चीनको महत्वाकांक्षालाई हुवावेले प्रतिनिधित्व गरिरहेको छ, तर हुवावे वर्षौंदेखि अमेरिकाको सुरक्षा चिन्ताको विषय बनेको छ । बेइजिङले मेङको मामलालाई चीनको उदयलाई रोक्ने अमेरिकी कदमको रूपमा हेर्दछ । “यो चिनियाँ सरकारको सर्वोच्च प्राथमिकताको मुद्दा हो । तिनीहरू असाध्यै मूर्ख छन् । उनीहरूले यो मुद्दालाई नजिकबाट नियालीरहेका छन्,” ब्रिटिश कोलम्बिया विश्वविद्यालयको एसियाली अनुसन्धान संस्थानका अनुसन्धाता वेनरान जियाङले बताउनुभयो । वाशिङ्टनले हुवावेमाथि अमेरिकी प्रतिबन्धहरुको उल्लङ्घन गरी इरानमा हङकङको एक बैंकमार्फत हुवावेका उपकरणहरु बिक्री गरेको आरोप लगाएको छ । इरानसँगको व्यापारिक कारोबारमा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङले एचएसबिसी बैंकलाई भ्रमित पारेर धोखा दिएको अमेरिकी आरोप छ । क्यानडाको एक अदालतबाट देश छाड्न नपाउने गरी जमानतमा मुक्त भएकी मेङ भ्यानकुभरमा आफ्नै स्वामित्वमा रहेका घरमा बस्दै आउनुभएको छ । उहाँले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहनुभएको छ । मेङको प्रतिरक्षा गरिरहेका वकीलहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका टिप्पणीहरुबाट यो मुद्दा राजनीतिक प्रेरित रहेको पुष्टी भएको दाबी गरेका छन् । हवाई उडान परिवर्तन गर्नेक्रममा डिसेम्बर २०१८ मा भ्यानकुभरमा क्यानडाली अधिकारीहरूले मेङलाई गिरफ्तार गरेका थिए । यसै दिन ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार वार्ताका सन्दर्भमा भेटघाट पनि भएको थियो । अभियोजकहरूले मेङको मामला व्यापार विवादबाट अलग रहेको जनाएका छन्, तर ट्रम्पले व्यापार वार्तामा मद्दत पुग्ने अवस्था देखिए आफूले मुद्दा सुल्झाउन हस्तक्षेप गर्ने बताएर यो मुद्दा राजनीतिक प्रेरित रहेको सङ्केत गर्नु भएको थियो । गत हप्ता चीन र अमेरिकाबीच “पहिलो चरण” को व्यापार सम्झौता भएको थियो, तर धेरै विश्लेषकहरूको विचारमा अमेरिकाको मुख्य चासोको सूचना प्रविधिको विषयलाई सम्बोधन गर्न वर्षौं लाग्नेछ । ट्रम्पले हुवावेको भाग्य व्यापार वार्तामा मोलतोलको रूपमा प्रयोग गर्ने सम्भावना देखाएका भए पनि बुधबार घोषणा गरिएको सम्झौतामा कम्पनीका विषयमा केही उल्लेख गरिएको छैन । मोबाइल फोनसेट र इन्टरनेट कम्पनीहरुका लागि हुवावे नेटवर्क गियरको सबभन्दा ठूलो विश्वव्यापी आपूर्तिकर्ता हो । वासिङ्टनले हुवावेका प्रविधिको प्रयोग सीमित गर्न अरु देशहरुलाई दबाब दिएको छ । हुवावेका उपकरणहरु देशको सुरक्षाका दृष्टिबाट निकै जोखिमपूर्ण रहेको अमेरिकी आरोप छ । “मेरो विचारमा यो वैचारिक मोर्चासँगै प्राविधिक युद्धको शुरुआत हो,” टोरोन्टो विश्वविद्यालयका प्राध्यापक लिनेट ओङले बताउनुभयो । “तपाईंले अबको विश्व दुई भागमा विभाजित भएको देख्नु हुनेछ । एउटा पक्षले चिनियाँ कम्पनीहरूका उपकरण प्रयोग गर्नेछन् भने अर्को पक्षले चिनियाँ कम्पनीहरूका सामान बहिस्कार गर्नेछन् ।” वासिङ्टनस्थित रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका जेम्स लेविसले अमेरिकाले मेङलाई पक्राउ गर्दा हुवावेले जानाजान प्रतिबन्धहरु उल्लङ्घन गरेका आफूसँग बलिया प्रमाणहरु रहेको दाबी गरेको बताउनुभएको छ । “अब चीन विकासशील मुलुक मात्र हो भन्ने छैन, चीन अब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको बलियो मुलुक भइसक्यो । अब चीनले जिम्मेबार भएर प्रस्तुत हुनुबाहेक अर्को विकल्प छैन,” लेविसले भन्नुभयो । मेङको प्रत्यर्पण सुनुवाईका क्रममा उहाँले अमेरिकी र क्यानडाली कानुनको उल्लङ्घन गरे नगरेको बारेमा बहस हुनेछ । मेङका वकीलहरूले शुक्रबार एउटा प्रस्ताव पेस गरेका छन् जसमा मेङमाथि धोखाधडीको मुद्दा नभई अमेरिकी प्रतिबन्धहरुका बारेमा मात्र हो भनिएको छ । क्यानडाले इरानमाथि समान प्रतिबन्ध लगाएको छैन । यो प्रत्यर्पण मामला समाधान गर्न केही वर्ष लाग्न सक्छ । वास्तवमा क्यानडाबाट संयुक्तराज्य अमेरिकामा हुने सबै प्रत्यर्पण अनुरोधलाई क्यानडाली न्यायाधीशले अनुमोदन गर्नु पर्दछ । मेङको पक्राउको विरोधस्वरुप चीनले क्यानडाका पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र क्यानेडाली उद्यमी माइकल स्पाभोरलाई पक्राउ गरेको थियो । ती दुई व्यक्तिलाई वकिल र परिवारको पहुँच अस्वीकार गरिएको छ, उनीहरुलाई जेलमा राखिएको छ । चीनले क्यानडाबाट आयात हुने तेल बीज र मासु सहितका विभिन्न सामानको आयातमा प्रतिबन्धहरु लगाएको छ । “क्यानाडाले अमेरिकासँगको आफ्नो प्रत्यर्पण सन्धिका सर्तहरू पूरा गरिरहेको छ तर यसको ठूलो मूल्य चुकाउनु परिरहेको छ,” क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रूडोका पूर्व विदेश नीति सल्लाहकार रोलान्ड पेरिसले बताउनुभयो । “हामी अहिले बाँचिरहेको यो त्यस्तो प्रकारको संसार हो जहाँ क्यानाडाजस्ता देशहरू खुम्चिएर खतरामा बाँच्नु परिरहेको छ ।”
Categorized in अन्तर्राष्ट्रिय