STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खुकुलाे लकडाउनमा अब यसरी चल्नेछन् सार्वजनिक सवारी

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २६, सोमबार

काठमाडौं - सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनगुमन गर्ने योजना छ । त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने प्रस्ताव गरिएको छ । सार्वजनिक यातायात चढ्ने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । सम्भव भएसम्म थर्मल गनबाट ज्वरो नापेर मात्रै यात्रु चढाउने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै सार्वजनिक बस लगायतका साधनभित्र चुस्त सररफाइको प्रवन्ध गर्नुपर्नेछ । दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्नेछ । सम्भव भएसम्म भाडाको भुक्तानी डिजिटल (विद्युतीय) माध्यमबाट गर्ने, नभए बसभित्र एउटा बाकस राखेर भाडा त्यसैमा तोकिएको खसाल्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । बसपार्क र बिसौनीहरुमा यात्रुहरुले सामाजिक दूरी कायम गर्नुपर्ने र लामबद्ध भएर सवारी चढ्नुपर्ने नियम लगाउन लागिएको छ । त्यसको निगरानी नेपाल प्रहरीले गर्नेछ । सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाइने नियम बनाए सञ्चालन खर्च पनि नउठ्ने यातायात व्यवसायीहरुको तर्क छ । व्यवसायीहरुले दुई वटा सुझाव दिएका छन् । पहिलो, हालको भाडादरमा बृद्धि गर्ने । दोस्रो, सरकारले व्यवसायीलाई अनुदान दिने । भाडा बढाउन नसक्ने हो सरकारले घाटा पूर्तिका लागि कम्पनीहरुलाई अनुदान दिनुपर्ने व्यवसायीहरुले बताएका छन् । यस्तो अवस्थामा सरकार भने भाडा बढाउने गृहकार्यमा जुटेको छ । व्यवसायी र उपभोक्ता दुबै मारमा नपर्ने गरी भाडा बढाएर सार्वजनिक यातायात खुला गर्ने तयारी छ । तर, कहिलेबाट कुन मोडलमा सार्वजनिक यातायात खुला गर्ने भन्ने निर्णय नभएकाले प्रस्तावित निर्देशिका पनि छलफलमै छ ।
Categorized in राष्ट्रिय