खुलामञ्चमा खाना नख्वाउने महानगरपालिकाको आदेशको साझा पार्टीद्वारा विराेध
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १८, मंगलबार
काठमाडाैं – केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले एउटा विज्ञप्ति मार्फत भर्त्सना गरेको छ।
पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति मा कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो भनि लेखिएको छ भने सरकारको सो कदमको विरोध जनाउन भोलि १९ गते बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।
साझा पार्टीले विभिन्न स्थानमा यसरी खाना खुवाउने कदम महिनौँदेखि निरन्तर रूपमा गर्दै आइरहेको हो भने टुंडिखेलमा यस्तो अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो भनि पार्टीको विज्ञप्ति मा उल्लेख गरिएको छ । साझा पार्टी ले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गरेकोछ।
पार्टीका तर्फबाट प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति मा सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस् भनि सरकारसंग अनुरोध पनि गरेको छ ।
Categorized in राजनीति

