STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ ः मन्त्री विश्वकर्मा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २९, आइतबार

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताउनुभयो । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकूद ऐन छलफलमा रहेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “चालू अधिवेशनबाट खेलकूद ऐन पारित भएको खण्डमा ऐनको व्यवस्थाअनुसार गर्दछौँ, पारित नहुने परिस्थिति आएमा लामो समय जिल्लाहरु रिक्त रहन दिँदैनौँ ।” खेलकूद ऐन आएलगत्तै प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशमा सङ्घीय संरचनाअनुसार खेलकूदको विकासका लागि प्रदेशस्तरीय संरचना बनाउन सक्ने भनाइ मन्त्री विश्वकर्माको छ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् तथा विभिन्न खेल सङ्घहरु प्रतियोगिता भव्य बनाउन लागिपरेको बताउँदै मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको उल्लेख गर्नुभयो । यही भदौ २६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले साग सञ्चालन व्यवस्थापन कार्यविधि मस्यौदा पारित गरिसकेको बताउँदै उहाँले आगामी असोज १० गतेभित्रमा खेलकूदमन्त्रीको अध्यक्षतामा रहेको आयोजक समितिको बैठक बसेर कार्यविधिअनुसार सबै समिति गठन गरी पूर्ण क्षमतामा काम अघि बढाइने छ भन्नुभयो । सागको आयोजनास्थल पोखरासमेत रहेकाले यहाँ पनि खेलकूदमा लागेका अनुभवी व्यक्ति र खेल सङ्घका पदाधिकारीहरुलाई समावेश गरेर स्थानीय व्यवस्थापन सहजीकरण समिति गठन गरिने मन्त्री विश्वकर्माले बताउनुभयो । राखेपका सदस्य राजेशकुमार गुरुङले सागको तयारीमा पोखरा जुटिसकेको बताउँदै पोखरा फुटबल रङ्गशालाको निर्माण सामग्री फ्रान्स र कोलकत्ताबाट आउन शुरु भएको जानकारी दिनुभयो । मञ्चका अध्यक्ष एकराज गिरीले प्रचारप्रसारको माध्यमबाट सागलाई सफल बनाउन पोखरेली पत्रकारहरु तयार रहेको उल्लेख गर्नुभयो ।
Categorized in राष्ट्रिय