खोटाङमा साकेलाको रौनक
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
किरात समुदायको महान् चाड साकेला उभौली का अवसरमा अहिले खोटाङमा वेग्लै रौनक छाएको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महीना दिनसम्म मनाउने पर्व हो साकेला उभौली ।्
साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरमा साकेला नाच्ने गरिन्छ ।
अहिले किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको पाइन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिर पूर्णीमाका अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।
उभौलीका अवसरमा किरात राईको ऐतिहासिक थलो मानिएको ठाउँमा पूजाआजा गरिएसँगै महीना दिनसम्म मनाउने प्रचलन छ । जिल्लाको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायतका धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।
किराती राईको घनाबस्ती रहेको माझ किरात खोटाङका हरेक गाउँ तथा बस्तीमा अहिले साकेला सिली प्रदर्शन गर्दै उभौली पर्व मनाउनेक्रम धुमधामका साथ चलिरहेको छ । छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला मनाइन्छ । खुला आकाशमुनि संयुक्तरूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।
बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषिकार्य प्रदर्शन गरिन्छ ।
साकेला पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला पर्वले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”
यसैबीच उभौली पर्वको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित बृहत् साकेला सिली प्रतियोगितामा साकेला गाउँपालिका–२ रतन्छाले प्रथम स्थान प्राप्त गरेको छ । जिल्ला तथा जिल्ला बाहिरका २० प्रतिष्पर्धी समूहलाई पछि पार्दै रतन्छाले प्रथम स्थान प्राप्त गरेको हो ।
मङ्गलबार सम्पन्न राष्ट्रव्यापी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ दोस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा तेस्रो भएका छन् । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः नगद रु एक लाख, ७५ हजार र ५० हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजक किरात राई यायोक्खा प्रारम्भिक समिति दोर्पाचिउरीडाँडाका अध्यक्ष सीताराम राईले बताउनुभयो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अहिले हरेक दिन साकेला सिली प्रदर्शन भइरहेको छ । आफन्तजनसँग भेटघाट गर्नुका साथै शुभकामना आदानप्रदान गर्दै साकेला सिली प्रदर्शन गर्ने गरिएको आयोजकले जनाएको छ ।
उभौली पर्वको शुरुआती दिन अर्थात् जेठ–४ गते मझुवागढीबाट शुरु भएको साकेला सिली पदर्शनी तथा शुभकामना आदानप्रदान कार्यक्रम यही जेठ ३२ गते शनिबार औपचारिकरुपमा समापन गरिने आयोजक किरात राई यायोख्खाका खोटाङका सचिव युगशन किरातले जानकारी दिनुभयो । दिक्तेलको माटीकोरे खेलमैदानमा आयोजना गरिने समापन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शन गरिने जनाइएको छ ।
समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधि लगायतलाई निम्तो दिइएको छ । कार्यक्रममा सहभागी अतिथिलाई समेत साकेला सिली नाच्न लगाएर मनोरञ्जन दिलाइने आयोजक किरात राई यायोख्खाले जनाएको छ ।
साकेला पर्व पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गर्छन् । साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् ।
Categorized in राष्ट्रिय


