STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खोलाको जग्गा धितो राखेर ऋण दिने प्रकाउ

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ५, आइतबार

पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् । उनीहरुले मिलेमतोमा बगिरहेको खोलाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । प्रहरीका अनुसार अभियुक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि नै अन्य व्यक्ति पक्राउ परेको र गत शुक्रबार मात्रै बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । उनीहरुविरुद्ध बैंकसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले तीन वर्षअघि खोलाको जग्गा धितो राखेर रु चार करोड ५० लाख ऋण दिएको खुल्न आएको छ । कमसल र नक्कली कागजात प्रयोग गरी खोलाको जग्गा धितो राखेर ऋण दिएको प्रहरीले जनाएको छ । बैंकसम्बन्धी कसुर मुद्दामा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ । “नक्कली र कमसल धितो राखेर ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी गराएको पाइयो, ऋणी सुरेन्द्र श्रेष्ठले पैसा नतिरेपछि उजुरी परेको थियो, अहिलेसम्म विभिन्न मितिमा पक्राउ गरेकासहित गरेर ५० दिन अनुसन्धान भइसकेको छ, अब १० दिनभित्रमा मुद्दा दर्ता हुन्छ”, प्रहरी उपरीक्षक पाण्डेले भन्नुभयो ।
Categorized in अपराध-दुर्घटना