STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गगन थापाको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो?

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

काठमाडाैं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभा संसदमा बोलेका सांसद थापाले शिक्षाका कार्यक्रमले निराश बनाएको उल्लेख गरे। सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका हुन्। ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो?,’ उनले प्रश्न गरे, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेकोजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’ यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएको थापाको भनाइ छ। ‘गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब बजेट?’ उनले भने। शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको भनाइ छ। ‘यो कार्यक्रम बनाउँदा अलिकति याद आएन इडिसिडीका सहजकर्ता, तलब नपाएर बसेका शिक्षक, आंशिक प्राध्यापक भोकै बसेको?’ उनले प्रश्न गरे। उनले एक जना शिक्षक राख्न नसकेको शिक्षक स्वयम सेवक कार्यक्रमलाई एक अरब ५० करोडबाट बढाएर दुई अरब २३ करोड बजेट दिइएको उल्लेख गरे। ‘छात्रबृत्ति तीन अरबबाट किन दुई अरब बनाएको?,’ उनले भने, ‘शिक्षा मन्त्रालयले बजेटले नचिन्ने कार्यक्रमलाई किन निरन्तरता दिएको? दाताको पैसा कतिञ्जेल चल्छ?’  
Categorized in राजनीति