गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यकम
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १५, आइतबार
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भइन् ।
गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो ।
समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो...’, बनेको छ पहराले यो छाती मेरो...’ र ‘धेरै छ गनर््ु स्वदेशको सेवा नेपाली भन्नलाई...’ बोलका गीत सङ्गीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यसवर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन । जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।
Categorized in राष्ट्रिय

