STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाइजात्राको दिन कीर्तिपुरमा ‘धेंधेंपापा नाच’ हुने

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र ६, आइतबार

कोरोना भाइरस कोभिड १९ महामारी त्रासका कारण गत वर्ष पनि स्थगित भएको कीर्तिपुरको ऐतिहासिक धेंधेंपापा नाच यस वर्ष हुने भएको छ ।

यस वर्षको धेंधेंपापा नाच संचालन गर्ने जिम्मा कीर्तिपुर नगरपालिका ३ वडास्थित चाफल टोलको रहेको छ । कोरोना महामारी र लकडाउनका कारण नाच प्रदर्शन गर्ने नगर्ने अन्यौलतालाई अन्त्य गर्दै नाचसंग सम्बन्धित व्यक्तिहरुको रोहबरमा बैठक बसी सापारु अर्थात् गाईजात्राको दिन सोमबार उक्त धेंधेंपापा नाच निकाल्ने निर्णयमा पुगेको हो ।

कीर्तिपुर नगरपालिका ३ वडाका वडा सदस्य एवं धेंधेंपापा नाच आयोजक चाफल टोलका बासिन्दा मिलन महर्जनका अनुसार धेंधेंपापा नाच निकाल्ने निर्णयमा पुगेको जानकारी दिदैं भन्नुहुन्छ, ‘नाच निकाल्ने त पक्का नै भयो । कीर्तिपुर परिक्रमा गरिन्छ नाचले । तर नाच कीर्तिपुर परिक्रमाको क्रममा विभिन्न स्थान गरी करिब १६ ठाउँमा पूर्ण रुपमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रही आएको छ । ती ठाउँहरुमा द्यः ल्हायेगु मात्र गरी कीर्तिपुर परिक्रममा गरी नाच सम्पन्न गर्ने निर्णय भएको छ । ठाउँ ठाउँमा पूर्ण रुपमा नाच प्रदर्शन गर्ने क्रममा मानिसहरुको भीड तथा हूलमूल हुने भएकोले कोरोना महामारी संक्रमणलाई मध्यनजर गर्दै नाचले कीर्तिपुर परिक्रमा मात्र गर्ने निर्णय भएको हो । नाचलाई व्यवस्थित, सभ्य र सौहार्दपूर्ण वातावरण तय गर्न अझ पनि नाच सम्बन्धी छलफल जारी नै छ ।’

धेंधेंपापा नाचको लागि शनिबार मात्र कलाकारहरुको छनौट गरिएको थियो । शनिबार छनौट गरी नाच सिकी केबल ३/४ दिन सिकी सोमबार त नाच प्रदर्शन गर्नु नै पर्ने वाध्यता उक्त नाचका कलाकारहरुलाई भएको छ । तर, पनि कलाकारहरु उत्साहितका साथ गहन रुपमा नाच सिक्दै छन् ।

धेंधेंपापा नाचका गुरु लक्ष्मण महर्जनले पनि धेंधेंपापा नाच कोरोना महामारीलाई ध्यानमा राखी मात्र कीर्तिपुर परिक्रमा गरिने र ठाउँ ठाउँमा नदेखाउने निर्णयमा पुगेको जानकारी दिनुहुन्छ । यस्तै बाजा गुरु राजेन्द्र महर्जनले पनि धेंधेंपापा नाच ठाउँ ठाउँमा प्रदर्शन नगरी कीर्तिपुर परिक्रमा मात्र गर्ने निर्णय आयोजक टोलले गरेको छ भन्दै भन्नु हुन्छ, ‘हेरौं सोमबारसम्म के कस्तो निर्णय हुन्छ ।’

नाचका गुरु ज्ञानेन्द्र महर्जन पनि सोमबार गाईजात्राका दिन नाच प्रदर्शनको बेला आयोजक टोलले के कस्तो व्यवस्था गर्ने हो सोमबार मैदानमा पुगेपछि मात्र थाहा हुने कुरा राख्नुहुन्छ ।

यस्तै आयोजक चाफल टोलका स्थानीय द्यःमांले धेंधेंपापा नाचको मुख्य थीम भनेकै नाचका कलाकारहरुले नाचको अन्तमा विभिन्न सामानहरु भुइँमा बजार्ने भएको कारण परम्परा चलन अनुसार विभिन्न ठाउँमा प्रदर्शन गर्नुपर्ने नियमलाई बरु ५/५ मिनेट मात्र प्रदर्शन गरी नाचलाई पूर्णता दिनुपर्ने विचार राख्नु हुन्छ । उहाँले यदि नाचको मुख्य थीम जनसमुदाय माझ नदेखाउने र मात्र कीर्तिपुर परिक्रममा गर्ने हो भने नाच निकालेकोमा औचित्य नहुने धारणा राख्नु हुन्छ ।

नाचमा सहभागी कलाकारहरु केवल ३/४ दिनको तालिम लिएर भए पनि उत्कृष्ट नाच प्रदर्शन गर्ने सोंचका साथ रिहर्सलमा छन् । कलाकारहरु त ठाउँ ठाउँमा पूर्णताका साथ नाच प्रदर्शन गर्न पाएको खण्डमा खुशी हुने नै भयो । नाचमा सहभागी कलाकारहरुले परम्परा चलन नियम अनुसार ठाउँ ठाउँमा पूर्ण रुपमा नाच पदर्शन गर्न पाए हुन्थ्यो भन्ने पक्षमा देखिन्छ भने हूलमूलमा कोरोना भाइरस महामारीलाई पनि ध्यान दिनुपर्ने कुरामा सचेत छन् ती कलाकारहरु ।

यस्तै, धेंधेंपापा नाच रिहर्सल हेर्न आउने अधिकांश कीर्तिपुरका स्थानीय बासिन्दाहरुले नाच परिक्रमाको क्रममा परम्परालाई निरन्तरता दिन ठाउँ ठाउँमा छोटो मिठो हुनेगरी नाच प्रदर्शन गरेको खण्डमा संस्कृति परम्परा पनि जोगिने धारणा राख्नुहुन्छ भने कोरोनाप्रति पनि सचेत हुनुपर्ने विचार राख्नुहुन्छ ।

संस्कृति, परम्परा एवं ऐतिहासिक नाच निरन्तरताको सवाल छ । यदि यो धेंधेंपापा नाच पूर्ण रुपमा प्रदर्शन गर्ने हो भने आयोजक पक्षले कीर्तिपुरका प्रत्येक टोलका सम्बिन्धत पक्षसंग छलफल गरी नाच व्यवस्थित गर्न छलफल गर्नुपर्ने परिस्थिति सिर्जित भएको छ भने यसपालीको नाच कोरोनाका कारण कीर्तिपुर परिक्रमा मात्र गरिने पनि जायजै छ ।  दोष कसैको हैन, केवल कोरोना महामारीको हो ।

(धेंधेंपापा नाचको रिहर्सल यहाँ क्लीक गरी हेर्नुहोला)

Categorized in उपत्यका