relans
ni new 83
nib 2082 5

गाउँ–गाउँ पुगे लोक संस्कृतिका अध्येता

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ७, बिहिबार

लोकवार्ता परिषद् नेपालको नवौं राष्ट्रिय सम्मेलन जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । गत सोमबार उद्घाटन गरी आज बिहीबार समापन हुने उक्त सम्मेलन जिल्लाका विभिन्न स्थानीय तहसम्म पुगेको छ । लोक परम्परा कला, संस्कृति र रीतिरिवाजको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विविध भाषा, धर्म र संस्कृतिको बसोवास रहेको यस जिल्लामा यस्तो सम्मेलन निकै महत्वपूर्ण भएको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरको भनाइ थियो । मगरको बाहुल्य रहेको जिल्लाको यस क्षेत्रमा मगरका परम्परात कला संस्कृति र वेषभूषा रहे पनि पछिल्ला दिनमा यो लोपोन्मुख अवस्थामा पुगेको उहाँले बताउनुभयो । लोकवार्ता परिषद्का सल्लाहकार एवं पूर्व सांसद बमकुमारी बुढामगरले अथार मगरात क्षेत्रको लोकसंस्कृति, वेषभूषा तथा भाषा संंस्कृतिबारे अनुसन्धान गर्न सम्मेलनले थप मद्दत पु¥याएको जानकारी दिनुभयो । मगर अध्येतासमेत रहनुभएकी उहाँले जताजतै पहिचानको कुरा उठिरहेको बेला यहाँका अथार मगरातको पहिचानलाई पनि जीवन्त राख्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । मङ्गलबार परिवर्तन गाउँपालिकाको पुतलाचौर र माडी गाउँपालिकाको घर्तीगाउँमा पनि उक्त टोली पुगेको थियो । दुवै ठाउँमा स्थानीय वेषभूषासहित उपस्थित जनसमुदायले उक्त टोलीलाई स्वागत गरेका थिए । दुवै ठाउँमा लोक कला, संस्कृति तथा वेषभूषाबारे प्रस्तुत कार्यपत्रमा टिप्पणी, सुझाव र सल्लाह दिइएको आयोजक संस्थाका सदस्य कुमबहादुर पुनले जानकारी दिनुभयो । उक्त टोली आज त्रिवेणी गाउँपालिकाको नुवागाउँमा आयोजना हुने कार्यक्रममा सहभागी भएको छ र भोलि रुन्टिगढी गाउँपालिकाको होलेरीमा कार्यक्रम गर्ने आयोजकले जनाएको छ । उक्त परिषद्का केन्द्रीय अध्यक्ष प्राध्यापक डा प्रेमकुमार खत्रीको नेतृत्वको उक्त टोलीमा प्राध्यापक डा कपिलदेव लामिछाने, प्राध्यापक डा चुडामणि बन्धु, प्राध्यापक डा मधुसुदन गिरीलगायत संस्कृतिविद् र साहित्यकारको सहभागिता रहेको छ । लोकवार्ताको आठांै सम्मेलन गतवर्ष कात्तिकमा भोजपुरमा आयोजना गरिएको थियो । रोल्पामा उद््घाटन गरिएको उक्त गोष्ठी प्यूठान पुगेर समापन हुने बताइएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा विशेष कार्यक्रम आयोजना गर्नाका साथै सबै गतिविधिको समीक्षासहित उक्त सम्मेलन समापन गर्ने कार्यतालिका बनाइएको स्थानीय आयोजक समितिका संयोजक भीमबहादुर बुढामगरले भन्नुभयो ।रोल्पा र प्यूठानका स्थानीय सरकार, विभिन्न सङ्घ संस्था, उद्योगी, व्यवसायी, विद्यालय, शुभेच्छुक तथा सर्वसाधारणले आर्थिक सहयोग गरेका सो सम्मेलनका लागि करीब २८ लाख खर्च अनुमान गरिएको स्थानीय आयोजक समितिका कोषाध्यक्ष ओम केसीले भन्नुभयो ।
Categorized in सिनेमा
ppp 2