गायक सलिलसुन्दर तुलाधरको आमा समर्पित गीत सार्वजनिक (भिडियो)
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १, बिहिबार
नेपालभाषा एवं खस नेपालीभाषाका चर्चित गायक सलिल सुन्दर तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारिएको नेपालभाषाको यः मां बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रणबहादुर ताम्राकारले शब्द लेखनमा सहयोग गरेका छन् । चर्चित कलाकार मन्जु श्रेष्ठ, दिपक मगर र सर्णिका राजोपाध्यायद्वारा अभिनित यस म्युजिक भिडियो मतिना प्रोडक्सनद्वारा तयार परिएको हो । विजु कर्माचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन् भने सहनिर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन् । आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुःखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ । यस गीतका गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यस पूर्व पनि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसकेका छन् । यसैगरी नेपालभाषा संगीतमा पनि छपलाः एल्बम, मखंत्वाःया काय्मचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् । उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । Categorized in सिनेमा


