गुणिला अर्थात् ‘गुंलापर्व’ आजदेखि सुरु
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २१, सोमबार
काठमाडौँ - एक महिनासम्म मनाइने ‘गुंलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।
"गुणिला" वा राम्रोबाट आएको ‘गुं’ र ‘ला’ को अर्थ ‘महिना’ वा धर्मकर्म गर्न राम्रो महिनाको रूपमा गुंला भनिएको हो । गोपालराजवंशावलीमा समेत यश महिनालाई 'गुणिला' लेखिएको पाइन्छ । यस महिना बजाइने बाजा विशेषलाई "गुंला बाजं" नाम दिइएको छ । गुंलाबाजा बजाएर तीर्थस्थल, मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ यो पर्व मनाइने गरिन्छ । एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ ।
यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । राँगा, भेडाको सिङबाट बनाइएका ‘न्यकू' बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्याःलगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको छ । गुंला पर्वका अवसरमा विशेषगरी नौथरि बाजा बजाउने प्रचलन छ ।
पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धाः बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमात्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन् ।
Categorized in उपत्यका

