गुथिले सफाइकर्मीलाई ‘पिपिई’ दिने
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २२, शनिबार
काठमाडौं– काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैरसरकारी संस्था गुथिले ५ सय सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) दिने भएको छ ।
वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा ती सामग्री दिइन लागेको हो ।
गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले पिपिईको नमुना काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई शुक्रबार (चैत २१ गते) हस्तान्तरण गरेका छन् ।
हस्तान्तरणको अवसरमा शाक्यले फोहोरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर सफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराउने जानकारी दिएका छन् ।
“सुरुमा औषधि छर्ने काममा खटिने, ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहोर संकलनमा खटिने ५० जनालाई सामग्री दिनेछौं । यसका लागि वातावरण व्यवस्थापन बिभागबाट काम सुरु भइसकेको छ,” मेयर शाक्यले बताए, “लकडाउनका समय पनि सफाइकर्मीहरु काममा खटिएका छन्, उनीहरुलाई जोगाउनु मेरो जिम्मेवारी हो ।”
उक्त सुरक्षात्मक उपकरणमा सुरक्षा लुगा १ सेट, चस्मा एउटा, पञ्जा एक जोर, बुट एक जोर, मास्क ३ थान, १०० एमएलको स्यानिटाइजर, एउटा साबुन, एउटा रुमाल, एउटा बाल्टिन र एउटा मग रहेका छन् ।
नमूना सामग्री हस्तान्तरणपछि प्रतिक्रिया दिँदै अमात्यले भाइरसको महामारीका समयमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएर सरसफाइकर्मीहरुको पेशालाई सुरक्षित बनाउन प्रयास गरिएको बताएका छन् । यसले सफाइकर्मीको पेशागत व्यवहार परिवर्तनमा ठूलो सघाउ पु¥याउने अपेक्षा लिएको अमात्यले बताएका छन् ।
हस्तान्तरण अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र फोहोरमैला व्यवस्थापन संघका पदाधिकारी पनि सहभागी थिए ।
गुथिले शुक्रबार नै कीर्तिपुर नगरलाई पनि सामग्री हस्तान्तरण गरेको थियो ।
काठमाडौं महानगरमा करिब ९ सय ५० कर्मचारी सरसफाइमा काम गर्छन् । फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्याङ्कअनुसार काठमाडौ उपत्यकामा ६५ वटा सरसफाई कम्पनी छन् । यी कम्पनीअन्तर्गत करीब २ हजार ५ सय सरसफाईकर्मी काम गर्छन् । देशभरि करिब ६ हजार व्यक्ति सरसफाइमा काम गरिरहेको अनुमान छ ।
स्मरणीय छ, यसअघि सरकारले कोभिडको महामारीका समयमा अत्यावश्यक सेवामा काम गर्नेहरुका लागि २५ लाख रुपैयाँको बिमा गरिसकेको छ ।
Categorized in राष्ट्रिय