घरबासको आकर्षण ‘लाठीनाच’
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २२, आइतबार
नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच९लठ्ठीनाच० हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।
यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बन्ने गरेको छ । यहाँ सञ्चालित घरबासमा १५÷२० जनाको लाठीनाच देखाउने युवाको समूह नै छ । प्रायःजसो घरबासमा आउने पाहुनालाई युवाको समूहले लाठी नाच देखाउने गर्छ ।
समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत घरबास पर्यटनले भूमिका खेलेको छ । सो समुदायको परम्परागत नृत्य पर्यटक आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । “हामीले लाठीनाच देखाउँदा पाहुनाहरुले रमाइलो मान्ने गर्नुभयो, स्वदेशी मात्र होइन विदेशी पाहुनाले समेत यो नाचमा आनन्द लिएको महसुस ग¥यौँ, यसले हामिलाई थप हौसला मिल्यो”, अमलटारी घरबास सांस्कृतिक समूहका सदस्य छन्नुराम महतोले भन्नुभयो, “त्यसपछि हामीसँगै नाच देखाउने अन्य धेरै समूह तयार भए ।”
युवाहरु अहिले विभिन्न समूह निर्माण गरी घरबासमा आउने पाहुनालाई लाठीनाच प्रस्तुत मात्रै गर्दैनन्, जिल्लामा हुने अन्य विभिन्न कार्यक्रममा पनि सहभागी हुन्छन् । हेर्नका लागि निकै मनोरञ्जनात्मक हुने हँुदा अहिले जिल्लामा हुने अन्य धेरैजसो कार्यक्रममा लाठीनाच प्रस्तुत गर्ने गरिएको छ ।
लाठीनाच थारु समुदायको संस्कृति संरक्षणका साथै आम्दानीको माध्यम समेत भएपछि यसमा लाग्ने युवाको समूह दिनप्रतिदिन बढ्दै गएको अमलटारी घरबासका व्यवस्थापक धनिराम गुरौंले बताउनुभयो । घरबासमा आउने पर्यटकले रुचिका साथ नाच हेर्न खोजेपछि झण्डै लोप हुने अवस्थामा पुगेका थारु, बोटे, माझी र मुसहर समुदायको संस्कृति संरक्षणमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो । सो समुदायमा नाचिने झर्रा, मेडरी, ठेकरी, घैला, झाम्टा, डम्फु र झुम्रा नाच मुख्य हुन् । झर्रा, ठेकरा, मेडरी जस्ता नाचमा पनि लाठी नचाउने गरिन्छ ।
झर्रानाचमा ठूला लठ्ठीको प्रयोग हुन्छ र बलपूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बाँसको लठ्ठी जुधाएर नचाउने गरिन्छ । लठ्ठीको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउँदा आवाज निस्कने गर्छ । ठूलाठूला मादल वा ढोलकको तालमा लठ्ठी जुधाउने गरिन्छ ।
प्रायः थारु बस्ती जङ्गल छेउमा हुने हुँदा आफ्नो सुरक्षाका लागि लठ्ठीको प्रयोग गरिथ्यो । आफ्नो सुरक्षसहित जङ्गली जनावरबाट खेतीबाली जोगाउन लठ्ठीको प्रयोग गर्ने गरिएकामा सामान्य तरिकाले सुरक्षा नहुने भएपछि लठ्ठीलाई कसरी कलात्मक र रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठी खेलाउने गरिएको हो । पछि यो नाचका रुपमा विकास हुँदै गएको कावासोतीका थारु अगुवा गणेशमान महतोले बताउनुभयो । उहाँका अनुसार पहिला रक्षात्मक रुपमा लठ्ठी चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजासँग जोडेर नाच्ने गरिएको छ । बाजाको तालमा लठ्ठी नचाउँदा रमाइलो हुन थालेपछि लाठीनाचको रुपमा विकास भएको छ । ‘स्टिक डान्स’ बाट घरबासमा आउने पाहुनालाई मनोञ्जन प्रदान गर्नाका साथै आम्दानी र सस्कृतिको संरक्षणमा समेत टेवा पुगेको महतोले बताउनुभयो ।
Categorized in राष्ट्रिय


