STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घर सम्पन्न प्रमाणपत्र लिन दुई वटा बिरुवा अनिवार्य

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो । नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । “नगरभित्र निर्माण हुने घरधनीहरुले अनिवार्य रुपमा बिरुवा रोप्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अन्यथा घर निर्माण सम्पन्नको प्रमाणपत्र जारी हुँदैन ।” नगरपालिकाका सबै वडामा रहेका सडकको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवद्र्धनका लागि वृक्षरोपण गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने जोशीले बताउनुभयो । “यस कार्यमा नगरको सुन्दरताका लागि एकरुपता कायम गर्ने गरी नगरपालिकाबाट बोटबिरुवाहरु उपलब्ध गराइनेछ”, जोशीले भन्नुभयो, “त्यस्ता बोटबिरुवाहरुको उत्पादन जग्गाधनीहरुले नै उपयोग गर्ने गरी संरक्षण गर्नुपर्नेछ ।” नगरपालिकाले फूलैफूलको नगर बनाउने नीति लिएको छ । नगरको सुन्दरताका लागि सडक किनारा र पार्क तथा खुल्ला स्थानको प्राकृतिक सुन्दरता एवं वातावरणीय स्वच्छता कायम गर्न बहुउद्देश्यीय नर्सरी स्थापना गर्ने नीति नगरपालिकाले पारित गरेको छ । नगरपालिकाभित्र परम्परागत चौतारा र पोखरी संरक्षणलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख जोशीले बताउनुभयो । जोशीका अनुसार व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थाहरुसँगको सहकार्य अघि बढाइने र वैकल्पिक झोला तयारी गर्नका लागि सहयोग प्रदान गरिनेछ । फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याई प्राङ्गारिक खेती प्रणालीसँग आबद्ध गरी अभियानका रुपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय