चक्रपथभित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २८, बुधबार
काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको आजको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।
पुतली सडक, पद्मोदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान साढे ८ बजेदेखि सार्बजनिक र निजी चार पाङ्ग्रे गाडीलाई चक्रपथ भित्र प्रवेशमा रोक लगाइएको छ ।
यस्तै, घण्टाघरबाट पनि गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौको भृकुटीमण्डपमा हुने विरोध सभा अघि ठाउँ ठाउँबाट जुलुस र र्याली निस्कन थालेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भइरहेको प्रचण्ड– नेपाल समूहले जनाएको छ ।
प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो । यस्तै गएको २३ गते प्रधानमन्त्री केपी शर्मा ओली समूहले शक्ति प्रदर्शन गरेको थियो ।
दुई समूहको विवाद र यस पछि भईरहेको प्रदर्शनले नागरिक भने मर्कामा परेका छन् ।
Categorized in राजनीति

