STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो । तर अहिलेसम्म पनि अनुसन्धानको नतिजा आइसकेको छैन । जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने बताउनुभयो । “कोहलपुरमा शङ्ख फेला परेपछि जुम्ला ल्याएर पहिचान र निर्माणकालको निक्र्यौल गर्नका लागि गुठी व्यवस्थापन समितिलाई देखाएका थियौँ”, उहाँले भन्नुभयो । उहाँले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताउनुभयो । मन्दिरबाट चोरी भएका मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ वटामूर्ति र दुई शङ्ख बेवारिसे अवस्थामा फेला परेका थिए । चोरी भएको एक महीनापछि स्थानीयवासीले दाउरा ल्याउन घर नजिकैको जङ्गल जाँदै गर्दा मूर्ति फालिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नयाँ मूर्ति प्रतिस्थापन मन्दिरमा २७ घण्टा लगातार पूजापछि दत्तात्रेयको नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । विसं २०७३ मङ्सिर १२ गते मन्दिरका सबै मूर्ति चोरी भएपछि यसअघि यति लामो पूजा नभएको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । गुठी व्यवस्थापन समिति सचिव रमानन्द आचार्यले मूर्ति चोरी भएको एक वर्षपछि भारतको देहरादुनबाट भवानी गिरी महाराजले ल्याएको मूर्ति प्रतिस्थापन गरिएको बताउनुभयो । “मन्दिरबाट चोरी भएका केही मूर्ति बेवारिसे अवस्थामा फेला परे पनि मुख्य दत्तात्रेयको मूर्ति अझै फेला परेको छैन”, उहाँले भन्नुभयो, “मुख्य मूर्तिविनै मन्दिरमा पूजाआजा गरिँदै आएको छ, पछि पुरानो मूर्ति भेटिए त्यसलाई नै राख्ने शर्तमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।” मूर्ति चोरी भएको थाहा भएपछि पुजारी र अर्का एक जना स्थानीय जयकृष्ण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको थियो । उनीहरूलाई जिल्ला अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैदको फैसला सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् । प्रहरीले सबै मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने जनाएको छ । पाँच जवान प्रहरीले चौबीसै घण्टा मन्दिर परिसरमा सुरक्षा दिने गरेका छन् । स्थानीय प्रशासनले मन्दिरलाई क्लोज सर्किट क्यामेराको निगरानीमा राखिएकोे जनाएको छ ।
Categorized in अपराध-दुर्घटना