STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्रकर्मी दक्षता अभिवृद्धि गर्ने क्रममा ध्वनि तालिम सुरु हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २, शनिबार

नेपाली चलचित्र उद्योगको गुणस्तर उकास्न र पर्दा पछाडिका स्रष्टाहरूको योगदानलाई संस्थागत सम्मान दिन चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/०८३ लाई ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का रूपमा मनाउँदै विभिन्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ। यही अभियानअन्तर्गत ध्वनी संयोजनकर्ताहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको “Spot Sync Sound Training” काठमाडौंमा आयोजना हुने भएको छ।

यस वर्ष बोर्डले Spot Sync Sound Training सँगै साउण्ड मिक्सिङ तथा पोस्ट–प्रोडक्सन, सिनेमेटोग्राफी, पटकथा लेखन, कलर करेक्सन, ड्रोन सञ्चालन, मेकअप, फोटो तथा भिडियो पत्रकारिता, एआई तालिम तथा सम्मेलन, पौडी तथा घोडाचढी तालिम, तथा प्रतिलिपि अधिकार, साइबर सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। यी सबै कार्यक्रमहरूले चलचित्रकर्मीहरूको प्राविधिक क्षमता, सिर्जनात्मक आत्मविश्वास र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बोर्डद्वारा आयोजित उक्त तालिम अडियो भिडियो सोसाईटि अफ नेपाल (AVSN) को सहकार्यमा सञ्चालन हुनेछ। चलचित्र छायांकन स्थलमै उच्च गुणस्तरीय ध्वनि रेकर्डिङ, प्रोफेशनल अडियो व्यवस्थापन, उपकरणको वैज्ञानिक प्रयोग र लाइभ सिङ्क साउण्ड प्रविधि सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिनेछ। यस तालिमले नेपाली चलचित्रको ध्वनि गुणस्तरमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिइएको छ।

पछिल्ला वर्षहरूमा नेपाली चलचित्रको प्राविधिक स्तर उल्लेखनीय रूपमा सुधार हुँदै गएको सन्दर्भमा बोर्डले अब गुणस्तरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउने दीर्घकालीन रणनीति अघि सारेको छ। ‘दक्षता अभिवृद्धि वर्ष–२०८२’ केवल औपचारिक घोषणा नभई, व्यवहारिक र परिणाममुखी कार्यक्रममार्फत उद्योगलाई मजबुत बनाउने अभियान भएको अध्यक्ष दिनेश डिसीले बताए । उनका अनुसार पर्दा पछाडि बसेर उत्कृष्ट चलचित्रको कृति सिर्जना गर्ने ध्वनी संयोजनकर्ताहरूलाई सशक्त बनाउनु नै यो तालिमको मूल उद्देश्य हो।

फागुन दोस्रो सातादेखि काठमाडौंमा सञ्चालन हुने Spot Sync Sound Training मा सहभागिताको अवसर सबै इच्छुक चलचित्रकर्मी तथा प्राविधिकहरूलाई खुला गरिएको छ। आवेदन भर्न छुटेकाहरूलाई पनि सहभागी भई आफ्नो सीप निखार्न बोर्डले विशेष आग्रह गरेको छ।

 

नेपाली चलचित्रको उज्यालो भविष्यका लागि पर्दा पछाडिका हातहरू अझ सक्षम, दक्ष र आत्मविश्वासी बनून् भन्ने कामनासहित सुरु गरिएको चलचित्रकर्मी दक्षता अभिवृद्वी अभियानले सम्पूर्ण चलचित्रकर्मीलाई गर्व गर्ने आधार प्रदान गर्ने विश्वास गरिएको छ। थप जानकारी तथा आवेदनका लागि Email: info@film.gov.np मा सम्पर्क गर्न सकिनेछ ।

Categorized in सिनेमा