STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उहाँले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने गरेकाले पहिले नै लिखित सुझाव दिन सङ्घलाई आग्रह गर्दै चलचित्र विधेयकमा सरोकार भएका निकायको सुझाव आएपछि संसद्बाट पारित गराउने प्रक्रियालाई अघि बढाइने बताउनुभयो । सङ्घका संस्थापक एवं वर्तमान अध्यक्ष रवीन्द्र खड्काले चलचित्र नीति २०७१ लागू गर्न माग गर्नुभयो । विसं २०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट सङ्घका लागि छुट्याइएको धापासीको दुई रोपनी जग्गा अझै उपभोग गर्न नपाएको बताउँदै उहाँले कानूनबमोजिम त्यो जग्गा उपलब्ध गराउन माग गर्नुभयो । सो अवसरमा अध्यक्ष खड्काले त्यो जग्गा दिन नसकिने भए अन्यत्र शोध भर्ना गर्नुपर्ने मागसहितको ज्ञापनपत्र मन्त्री बाँस्कोटलाई बुझाउनुभयो । तीन दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई पनि ज्ञापनपत्र बुझाई तिरो तिरिरहेको धापासीको जग्गा भोगचलन गर्न पाउनुपर्ने माग गरिएको सङ्घका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । सङ्घले यसअघि नै विधेयकको कलाकार परिभाषामा कलात्मक, सिर्जनात्मक, बौद्धिक, सीपमूलक र श्रम गर्नेलाई बुझाउने भन्ने शब्दावली मात्र प्रयोग गरेकामा अभिनयमूलक शब्द पनि थप गरिनुपर्ने माग गरेको थियो । सङ्घको नयाँ नेतृत्व डेढ महीना अघि निर्वाचित भएको थियो । स्वागत कार्यक्रममा सङ्घका नवचिर्वाचित पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।
Categorized in राष्ट्रिय