STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चारआली–केचना चक्रपथको काम शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ७, मंगलबार

मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म सो सडक बन्न सकेको थिएन । देशकै होचो भूभाग कचनकवल पुग्ने सडक निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । सडक सञ्जालको पहुँच कचनकवलसम्म नपुग्दा झापाकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा रहेको केचना आफैँ ओझेलमा परेको थियो । कचनकवल गाउँपालिका–४ मा नेपालकै होचो भूभाग कचनकवल स्तम्भ छ । यहाँसम्म पुग्ने सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटक केचनाबजार पुगेर त्यहीँबाट फर्कने गरेका थिए । भारतीय सीमावर्ती नाका नजिकै पर्ने कचनकवल स्तम्भको पर्यटकीय सम्भावनालाई ख्यालमा राख्दै नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ मा कचनकवल स्तम्भ भएर जाने चक्रपथ बनाउने योजना अघि सार्दै सडक निर्माणको काम अघि बढाए पनि निर्माण कम्पनीले काम गर्न सकेको थिएन । रिङरोडका लागि बजेटको व्यवस्थापन प्रदेश सरकार कि सङ्घीय सरकारले गर्ने भन्ने विषय टुङ्गो लाग्न नसक्दा सडक बन्न नसकेको डिभिजन सडक कार्यालय दमकका सबइञ्जिनीयर सरोज सुवेदीले बताउनुभयो । सङ्घीय सरकारले सो सडक निर्माण गर्ने जनाएपछि काम शुरु भएको सुवेदीको भनाइ छ । सडक निर्माणसँगै आठ दशमलव दुई किलोमिटरको रिङरोडमा ह्युमपाइप तथा स्ल्याब कल्भर्ट निर्माण हुने उहाँको भनाइ छ । केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडागीको चाराआली–केचना सडकसम्म जोड्ने रिङरोडको काम चालू छ । रिङरोडका लागि पहिलो चरणको काम यसअघि नै भएको निर्माण कम्पनीका प्राविधिक वैद्यनाथ महतोले बताउनुभयो । रिङरोडभित्र पर्ने क्षेत्रमा ह्युमपाइप तथा स्ल्याब कल्भर्टमध्ये केही निर्माण भइसकेको छ भने केही बनाउन बाँकी रहेको महतोको भनाइ छ । अहिले सडकलाई सम्याउने काम भइरहेको र साढे पाँच मिटर सडक तत्काल कालोपत्र गरिने उहाँले बताउनुभयो । सडक बन्न शुरु गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने भन्दै कचनकवलका अध्यक्ष अन्जार आलमले गाउँपालिकाका तर्फबाट सडक निर्माणमा सहयोग पु¥याइने बताउनुभयो ।
Categorized in राष्ट्रिय