STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चियाको पहिलो यामको उत्पादन उत्साहजनक

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

 दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो । 
 
पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग अत्यन्तै बढी हुन्छ । गतवर्ष चिया उत्पादनमा विभिन्न समस्या झेल्दै आएका किसानले यसवर्ष भने यामको शुरुमै राम्रो मूल्यमा चिया बेच्न पाउने भएका छन् । “यसवर्ष समयमा पानी परिदिएको र चिया पलाउने सिजनमा मौसम राम्रो भएकाले उत्पादन राम्रो भएको छ”, साँखेजुङका चिया किसान तथा प्रशोधनकर्ता गोपाल दाहालले भन्नुभयो, “यो सिजनमा गत वर्षको भन्दा १० प्रतिशत चिया वृद्धि हुने अनुमान गरेको छु”
 
उहाँका अनुसार नयाँ यामको चियाको मूल्य अन्य यामको भन्दा आधा बढी हुन्छ । यसवर्ष पनि नयाँ यामको भाउ उत्साहजनक रहको दाहालको भनाइ छ । चियाको उत्पादन उत्साहजनक भएपछि चिया किसानले चिया टिप्न समेत शुरु गरेका छन् । यो यामको चिया टिप्न र प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिँदा मात्र गुणस्तरीयता कायम राख्न सकिने किसानको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा चियाको राम्रो छाप छोड्न सक्दा मात्र पछिल्लो यामको चियाको पनि भाउ राम्रो पाइने कञ्चनजङ्घा अर्गानिक चिया प्रशोधन उद्योग साँखेजुङकी मिलनकुमारी खत्रीको भनाइ छ । 
 
गत वर्ष २० टन तयारी चिया उत्पादन गरेको उद्योगले उत्पादनको ५० प्रतिशत चिया विदेश निर्यात गरेको छ । उद्योगमा चिया बिक्री गर्ने प्रायः सबै किसानको चिया अर्गानिक प्रमाणीकरण भइसकेकाले योवर्ष तेस्रो मुलुकका नयाँ÷नयाँ व्यापारीबाट चियाको माग उच्च रहेको खत्रीले जानकारी दिनुभयो । 
 
इलाममा दुई हजार ८४५ हेक्टर चियाखेती मध्येबाट गतवर्ष २१ लाख ६९ हजार ७९६ किलो चिया उत्पादन भएको थियो । यस्तै, नेपालमा २८ हजार २४१ हेक्टरखेती भएकोमा गतवर्ष दुई करोड चौबालीस लाख नौ हजार २२७ किलो उत्पादन भएको थियो । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ ।
Categorized in राष्ट्रिय