चिया खेती गर्दै गाउँपालिका
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार
जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडामा यसै वर्ष व्यावसायिक चिया खेती शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका–७ रेश र वडा नं ३ धम्जाको माथिल्लो भागमा चिया खेती गर्न थालिएको हो ।त्यहाँकोे खुला जमीन उपयोग गरेर चिया खेती गर्ने गाउँपालिकाको योजनाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक समूहले आवश्यक हावापानी, माटो परीक्षण, तापक्रमलगायत विषयमा अध्ययन गरेर रेशको बौर र तिङरिङ तथा धम्जाको देउराली उपयुक्त रहेको जानकारी गराएकाले प्रक्रिया अघिबढाइएको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।
। “प्रविधिकले गरेको अध्ययनले हामीले रोजेका ठाउँ उपयुक्त रहेको भनेको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमार्फत् उपभोक्ता समिति बनाएर व्यावसायिक उत्पादन थाल्छौँ ।” प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा सो काम थालिएको हो । रेशको बौर र तिङरिङमा ४० हजार चियाका बिरुवा लगाउने योजना वडा कार्यालयले बनाएको छ । बिरुवाका लागि मात्रै रु नौ लाख २० हजार छुट्याइएकामा बाँकी सबै काम स्थानीय उपभोक्ताले श्रमदान गर्नेछन् । “यहाँको जमीन भोकाधिकार गर्दै आएका सबै पक्षसँग छलफल गरेर चिया खेती गर्ने निधो गरेका हौँ”, काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले भन्नुभयो, “सबैको चित्त बुझ्ने गरी काम अघि बढेको छ ।” त्यस्तै धम्जाको देउरालीमा १४ हजार बिरुवा लगाउने योजना वडाले बनाएको छ ।
धम्जामा लगाउने बिरुवाका लागि रु दुई लाख ९७ हजार बजेट छ । बाँकी काम उपभोक्ता समितिले श्रमदान गर्ने उपभोक्ता समितिका सचिव गोपाल श्रीषले बताउनुभयो । त्यसका लागि उपभोक्ता समिति गठन गरेर कामको जिम्मेवारी दिइएको स्थानीयवासी यामबहादुर श्रीषले जानकारी दिनुभयो । “चिया लगाउने क्षेत्रमा जमीन पर्ने उपभोक्ता र अन्य स्थानीयबासीको समेत सहभागितामा समिति गठन गरेर काम अघि बढेको छ”, श्रीषले भन्नुभयोे, “उत्साहका साथ स्थानीयवासीले काम थालेका छन् ।” उच्च पहाडी भू–भाग भएकाले दुवै वडामा सिँचाइको अभाव छ । चिया खेतीको लागि बिरुवा लगाउन खाल्डासमेत तयार भए पनि बिरुवा लगाउनका लागि असारसम्म कुर्नुपरेको उहाँले बताउनुभयो । परीक्षणका लागि लगाइएको बिरुवाले राम्रो सफलता दिएपछि स्थानीय किसान उत्साहित भएका हुन् ।
Categorized in राष्ट्रिय