STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चेकजाँचको क्रममा भक्तपुरमा दुर्घटना, स्कुटरचालक महिलाको मृत्यु, प्रहरीविरुद्ध सर्वसाधारण आक्रोशित

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ३१, बिहिबार

काठमाडौं - ट्राफिक प्रहरीकै सामु भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । भक्तपुरको स्थानीय ट्राफिक प्रहरीप्रति आक्रोशित बनेका छन्।  

गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्र दिएर घिसारेको थियो । केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सँगै ट्राफिक प्रहरीलाई लखेटे । प्रदर्शनकारीले ट्रकमाथि आगजनीसमेत गरेका छन् । केहीबेरमा आगो भने निभाइएको छ ।

मृतक स्कुटर चालक महिलाको पहिचान खुल्न सकेको छैन ।

 

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।

ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन्। 

मृतकको सनाखत हुन सकेको छैन।  दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए। 

भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन पनि फर्काइएको छ। सडक रगताम्य छ। अहिले त्यहाँ जम्मा भएको भीडले प्रहरीको विरोध गरिरहेको छ।

यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ। प्रहरीले अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। 

Categorized in अपराध-दुर्घटना