STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छ नाउर र तीन झारलको सिकार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको आरक्ष कार्यालयले जनाएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीहरुले आफ्नो प्रमुख गन्तव्यका रुपमा लिदै आएका छन् । सिकारका लागि सिकार कम्पनीले यो याममा एउटा नाउरको रु १३ लाख एक हजारदेखि रू १३ लाख ५१ हजारसम्म र एउटा झारलको रु १३ लाख एक हजारदेखि रू १३ लाख ५० हजारसम्म राजश्व विभागलाई बुझाएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट छ कम्पनीले सिकारी पठाउने जिम्मा पाएअनुसार कम्पनीले विभागसँग सम्झौता गरी सिकारीलाई सिकार गर्ने अनुमति दिएको थियो । “हरेक वर्ष विभागले बोलपत्र प्रक्रियामार्फत सिकार कम्पनी छनोट गरेर सिकार गराउने गर्दछ”, बागलुङ सिकार आरक्ष कार्यालयका सूचना अधिकारी विष्णु रोकायले भन्नुभयो, “यो याममा सिकारीको कम उपस्थिति तथा असफलताले पूरै सिकार हुन सकेन ।” विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायत मुलुकका प्रसिद्ध सिकारी आउने गरेको रोकायले जानकारी दिनुभयो । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको सिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि सिकारी ढोरपाटन आउने गरेको सिकार आरक्ष कार्यालयको भनाइ छ । यो याममा हिमालयन सफारीले अनुमति पाएको दुई नाउरमध्ये एक नाउरको सिकार हुन सकेन भने एक सिकारी अनुपस्थिति भए, यस्तै ‘ट्रयाक एण्ड टे«र्डल’ले अनुमति पाएको दुई नाउर र एक झारल सिकार गरेको, ‘ग्लोबल सफारी’ले अनुमति पाएको एक नाउर सिकार गरेको, ‘नेपाल वाइल्ड लाइफ सफारी’ले अनुमति पाएको दुई नाउर र एक झारल सिकार गरेको थियो । यस्तै ‘नेपाल वाइल्ड लाइफ आटफिटस’ले अनुमति पाएको दुई नाउर र एक झारलमध्ये एउटा नाउर र एउटा झारल सिकार गर्न असफल भएको र एक नाउर सिकारी अनुपस्थितिका कारण सिकार हुन नसकेको र ‘नेपाल वाइल्ड लाइफ एडभेञ्चर’ले अनुमति पाएको एक नाउर र एक झारल सिकार गरेकोे सिकार आरक्षले जनाएको छ । हरेक आर्थिक वर्ष आश्विन महीनादेखि मंसिर पहिलो हप्तासम्म आरक्षमा पहिलो यामको सिकार गरिन्छ भने फागुन महीनादेखि वैशाख पहिलो हप्तासम्म दोस्रो यामको सिकार गरिन्छ । यस आर्थिक वर्षको दोस्रो यामबाट रु एक करोड ८९ लाख १० हजार राजश्व सङ्कलन भएको सिकार आरक्ष कार्यालयले बताएको छ । सरकारले २०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि यहाँ विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा सिकार गर्न पाइने सयौँ सिकार आरक्ष भए पनि प्रख्यात सिकारीले भने नेपालको ढोरपाटन सिकार आरक्षलाई मुख्य गन्तव्यका रुपमा लिने गरेका छन् । पन्ध्र दिनको सिकार अनुमतिसहित सिकार गर्न आउने सिकारी पर्यटकले आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा अनुमति प्राप्त हतियार तथा गोली प्रयोग गरी भाले नाउर वा झारल मात्र सिकार गर्न पाउने व्यवस्था गरिएको छ ।
Categorized in राष्ट्रिय