जनताका अपेक्षा पूरा गर्नुको विकल्प छैन ः प्रदेश प्रमुख खनाल
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार
कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपाली जनताका आशा अपेक्षा पूरा गर्न सबै मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।
कर्णाली सरकारद्वारा आयोजित १२ औँ गणतन्त्र दिवसलाई सम्बोधन गर्दै उहाँले सबै पक्ष मिलेर अघि बढे निकट भविष्यमै जनताका अपेक्षाले पूर्णता पाउने बताउनुभएको हो ।
प्रदेश प्रमुख खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपाललाई सुनौलो बाटोतर्फ डो¥याइरहेको विचार व्यक्त गर्नुभयो । “सुनौलो नेपालका प्राप्त उपलब्धिलाई रक्षा गर्दै जनताका आशा अभिलाशा पूरा गर्न केन्द्रित हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गरे नेपाल सुनौलो बन्नेछ ।”
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको तीव्र चाहना पूरा गर्न पक्ष÷प्रतिपक्ष एकजुट हुनुपर्ने बताउनुभयो । “सडक धुलाम्य छन्, खानेपानीको हाहाकार छ, सिँचाइ अभावले खेतीयोग्य जमीन बाँझै छन्, भ्रष्टाचारको समस्या विकराल छ”, उहाँले भन्नुभयो, “अहिलेको शासन व्यवस्थाबाटै यस्ता समस्याको निराकरण गर्नुपर्नेछ, हामी निर्वाचित जनप्रतिनिधिमाथि अझ बढी जिम्मेवारी छ ।”
मुख्यमन्त्री शाहीले एकात्मक शासन व्यवस्थाका सोच, शैलीलाई त्याग्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीमगर, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, राष्ट्रसेवक कर्मचारीको सहभागिता थियो । त्यस्तै, गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विभिन्न क्रियाकलापमा सहभागी तथा प्रतियोगिताका विजयीलाई प्रदेश प्रमुख खनालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


