relans
ni new 83
nib 2082 5

जनमत सङ्ग्रहमार्फत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छः महामन्त्री कोइराला

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १७, शुक्रबार

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताउनुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मको विषयमा जनमत सङ्ग्रह गरिनुपर्छ र सबैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ ।” उहाँले नेपालमा धार्मिक अतिक्रमण भइरहेको आरोप लगाउनुभयो । केही धर्मको नाम लिँदै उहाँले हिन्दूहरु धर्म संरक्षणमा जागरुक हुन आवश्यक रहेको बताउनुभयो । आफूले विपीको पद पछ्याइरहेको भन्दै डा कोइरालाले काम गरेर देखाउने उद्घोषसमेत गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, काङ्ग्रेस महासमिति सदस्य चन्द्र केसी, मूल समारोह समितिका संयोजक प्रकाश काफ्ले, प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा, शिक्षक धनपति खरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत इञ्जिनीयरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहनुभएको छ । हालसम्म झण्डै रु चार करोड सङ्कलन भइसकेको छ । महोत्सव यही फागुन २१ गतेसम्म चल्नेछ । ––– ( रासस )
Categorized in राजनीति
ppp 2