जबरालाई सर्वाेच्च प्रवेशमा रोक
Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २, आइतबार
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभाकाे कार्यकाल सकिएसँगै आफू माथिको महाअभियोग पनि निष्कृय भएकाे भन्दै नियमित काममा फर्किने बताएपछि सुरक्षा सतर्कता बढाइएकाे हाे ।सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ ।
सर्वाेच्च अदालतकाे प्राङगढमा कानून व्यवसायीहरू विराेधका लागि उभिएका छन्। त्यहाँ अहिले पुगेका सञ्चारमाध्यमका प्रतिनिधिसँग पक्ष र विपक्षमा कानून व्यवसायीहरूले धारणा व्यक्त गरिरहेका छन् ।
महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।
यसैबीच,निलम्बित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको हाे ।
यस्तै, नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गरिरहने र जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न पनि नसकिने बताए ।
निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए ।
Categorized in राजनीति

