STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसले चुनौतीको चुचुरो चुम्दै इतिहास बनाए

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ । 
विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मि उचाइ को मापन पहिलोपटक नेपाल आफैँले नाप्न सक्छ भन्ने सन्देश संसारलाई दिएको छ । 
सगरमाथा मापनको काम ६५ वर्षदेखि विभिन्न मुलुकले गर्दै आएका छन् । तर नेपालले पहिलोपटक आफ्नै स्रोत साधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरेको हो । जुन इतिहासकै गौरवपूर्ण कामको थालनी थियो । यो महत्वाकाङ्क्षी यात्रालाई उत्साहमा परिणत गर्ने नेपालकै राष्ट्रसेवक कर्मचारी जसले जीवनको प्रवाह नगरी अहोरात्र खटेर इतिहास बनाए । 
 
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वको टोलीले पहिलोपटक सगरमाथाको चुचुरामा पुगेर उचाइ मापन गरेको छ । विभागकै नापी अधिकृत रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धितालले अभियानलाई साथ दिनुभयो । पथपदर्शक छिरिङजाङ्बु शेर्पालगायतको दरिलो साथले अयिभानलाई सार्थकता तुल्यायो । नापी टोलीले सगरमाथाको चुचुरामा पुगेर एक घण्टा १६ मिनेट बिताएर सर्वेक्षण गर्नु निकै चुनौतीपूर्ण काम  थियो । यही जेठ ८ गते बिहान ३ बजे उनीहरु सगरमाथाको चुचुरामा पुग्न सफल भएका थिए ।
 
असाध्यै जोखिमपूर्ण तर राष्ट्रको गौरवसँग जोडिएको विषय सगरमाथाको उचाइ मापन गर्ने कार्यमा आफँै संलग्न भएर इतिहास कायम गर्न सकेकामा खुशीको सीमा नरहेको संयोजक गौतमले बताउनुभयो ।
 
“संसारकै अग्लो हिमचुचुरोमा गएर सर्वेक्षण गर्नु निकै चुनौती थियो । इतिहास रच्नका लागि हामीमा अदम्य साहस र धैर्य थियो जसले सफलता हात लाग्यो । भूकम्पपछि संसारभर सगरमाथाको उचाइप्रति विभिन्न धारणा आए तीनलाई चिर्न पनि हामीले महान् कार्यलाई पूर्णता दिनु नै थियो”, मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा गौतमले सुनाउनुभयो ।
 
निजामती कर्मचारीका तर्फबाट सगरमाथा आरोहण गर्नेक्रममा गौतमले सफलता प्राप्त गर्नुभएको थियो । नापी विभागमा उपसचिव तहमा कार्यरत उहाँको यो दोस्रोपटकको सगरमाथा आरोहण हो ।
 
गौतमले भन्नुभयो, “नेपालको गौरव सगरमाथाको उचाइ अहिलेसम्म सरकार आफैँले मापन गरेको थिएन । वर्तमान सरकारले यो कार्यक्रम ग¥यो जुन अत्यन्तै महत्वपूर्ण कार्यक्रम थियो । आफ्नै स्रोत साधन तथा उपकरणले सगरमाथा मापनको काम भएकोमा यसप्रति सरोकारवालाको दरिलो साथ रहेको छ ।”
 
संसारका मुख्य स्याटेलाइटमध्ये ५२ वटा स्याटेलाइट सगरमाथाको चुचुरोको बिन्दुबाट मापन गर्नु विश्वकै नौलो परिघटना भएको गौतमको भनाइ छ । यसले संसारका वैज्ञानिकलाई सन्देश दिएको छ कि नेपाल आफँै महान् काम गर्नसक्छ ।
अभियानको मुख्य सहयोगी छिरिङजाङ्बु शेर्पाको अनुभवमा यसपटक सगरमाथाको चुचुरोमा पुग्नु निकै चुनौतीपूर्ण थियो । “प्रतिकूल मौसमका कारण सगरमाथामा आरोहीको ट्राफिक जाम थियो । आठ हजार मिटर उचाइमा दुई रात बिताउनु असाध्यै कठिन कार्य थियो । आरोहण सकेर फर्कंदा हिलारी स्टेपमा दुई घण्टा पर्खनुपरेको थियो । अक्सिजन सकिन्छ कि भन्ने अर्को चुनौती थियो”, शेर्पाले स्मरण गर्नुभयो । 
 
विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्प तथा त्यसपछिका परकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो । विश्वभर सगरमाथाको उचाइबारे द्विविधा उत्पन्न गरायो त्यसलाई चिर्न सरकारले पहिलो चासो लिएर मापनको काम अघि बढाएको हो ।
 
यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । सगरमाथा उचाइ मापनका लागि नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको थियो । समुद्री सतह बङ्गालको खाडीदेखि सगरमाथाको चुचुरोसम्म नापी विभागका प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । ओखलढुङ्गा, खोटाङ हँुदै सोलुखुम्बुका विभिन्न क्षेत्रमा उचाइ मापन प्राणली जडान गरिएको छ । जसको सहयोगले गणितीय तथ्य प्राप्त गरी विश्लेषण गरेर आगामी छ महीनाभित्र सगरमाथाको उचाई सार्वजनिक गरिने योजना रहेको जनाइएको छ ।  
 
भूमि व्यवस्थामन्त्री अर्यालले चुनौतीको शिखर चुमेर महान अभियान सफल गर्ने टोलीसँग साक्षात्कार गर्ने अवसर पाउनु आफ्नालाई निकै खुशी र उत्साहको दिन भएको उल्लेख गर्नुभयो । “संसारकै अग्लो उचाइ नेपाललाई आफ्नै स्रोत र जनशक्तिबाट मापन गर्नु सामान्य विषय थिएन । नेपाल अब स्वावलम्बी बन्दैछ, त्यसको उदाहरण हो सगरमाथा मापन कार्य, लेवलिङ, सर्भे, सेटलाइटको प्रक्रिया सकेर नापी विभागको आफ्नै प्रयोगशालाबाट सगरमाथाको उचाई पत्ता लगाइनेछ । बाँकी काम तीव्ररुपमा अघि बढाई छिट्टै परिणाम ल्याइनेछ ।”
 
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपाली प्रविधि र स्रोत साधन प्रयोग गरेर सगरमाथाको वास्तविक उचाई पत्ता लगाउने काम आफैँमा गौरवको विषय भएको र केही महीनामै परिणाम आउने उल्लेख गर्नुभयो । 
Categorized in राष्ट्रिय