जोर–बिजोर उल्लङ्घनमा तीन सय बढी कारबाहीमा, चालकमात्र चढ्न भन्नु 'अव्यावहारिक'
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३०, शुक्रबार
काठमाडाैं - मोटरसाइकललगायत दुई पांग्रे सवारीमा चालकमात्र चढ्न दिनु अव्यावहारिक भएको गुनासो सर्वसाधारणले गरेका छन् । जोर–विजोर लागु भएको आज पहिलो दिन यस नियमको उल्लंघन गर्ने सयौं सर्वसाधारण कारबाहीमा परेका छन् ।
योबाहेक चालकलाई मात्र चढ्न दिएकाले मोटरसाइकललाई जोर बिजोर लागु हुने नहुने भन्ने अन्योल पनि सर्वसाधारणमा परेको देखिन्छ । जसले गर्दा शुक्रबार उपत्यकाका सडकमा जोरबिजोर दुवै नम्बर प्लेटका दुई पाङ्ग्रे सवारी देखिएका छन्।
शुक्रबार जोर–बिजोरको नियम उल्लङ्घन गरेको आरोपमा तीन सय जना कारबाहीमा परेका छन् । पास भएका सवारीसाधनलाई भने जोर–बिजोरको नियम लागु भएको छैन ।
मन्त्रिपरिषद्को निर्णयमा स्पष्ट व्याख्या नहुँदा मोटरसाइकलबारे अन्यौलता देखिएको अधिकृतहरू बताउँछन् । सरकारले साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेको छ।
सरकारी निर्णयपछि ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा चालकलाई मात्र चढ्न दिएको छ । दुई जना चढेर आएको अवस्थामा रोक्न थालिएको छ ।
मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न नमिल्ने निर्णयको सर्वसाधारणले भने विरोध जनाएका छन् । यो निर्णय व्यावहारिक नभएको उनीहरूको भनाइ छ ।
Categorized in राष्ट्रिय