STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोप्न थालिएको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको यहाँ गरिएको परीक्षण सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको जानकारी दिँदै प्रमुख तिम्सिनाले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको बताउनुभयो । कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्म तीन लाख बिरुवा लगाइएको र आठ लाख ५० हजार बिरुवा लगाउन तयारी भइरहेको उहाँको भनाइ थियो । मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने उल्लेख गर्दै प्रमुख तिम्सिनाले भन्नुभयो, “हाल बजारमा यसको मूल्य प्रतिकिलोग्रामको रु ८०० देखि एक हजारसम्म छ, उत्पादन शुरु भएपछि ६०० मूल्य निर्धारण गरेर बिक्री गर्नेछौँ । रु १० करोडभन्दा बढीको लगानीमा शुरु गरिएको यस खेतीमा हाल १००भन्दा बढीले रोजगारी पाएका छन् । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको प्रालिले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको कम्पनीका लेखापाल विजय पाठकले बताउनुभयो । उक्त कम्पनीले ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा समेत यसवर्ष १० रोपनी जग्गामा परीक्षणको रुपमा स्ट्रबेरी खेती लगाएको छ । उहाँका अनुसार कम्पनीले झापाको बाह्दशी गाउँपालिकाभित्रै २१० बिघा जमीन खरीद गरेर व्यावसायिकरूपमा प्राङ्गारिक फलफूल र तरकारी खेती गर्न शुरु गरेको छ ।
Categorized in राष्ट्रिय